
शुक्रवार , भाद्र ११, २०७८
भैरहवा, ११ भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले बौद्धिक अपांगता अभिभावक संघ, रुपन्देहीलाई सहयोग गरेको छ । क्लबले शुक्रबार एक कार्यक्रमकाबीच संघलाई ३१ हजार रुपैयाँ प्रदान गरेको हो । क्लबका वर्ष २०२१/२२ का अध्यक्ष मन्जु खरेलको जन्मदिनका अवसर पारेर संघलाई उक्त रकमको चेक प्रदान गरिएको कार्यक्रम संयोजक तथा क्लबका सह–सचिव अनिता थापा क्षेत्रीले बताइन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्समार्फत सेवाका हातहरु अगाडी बढेको बताए । उनले राज्यले गर्नुपर्ने कतिपय काम लायन्स क्लबले गरेको बताए । न्यौपानेले तीनै तहका सरकारसंग लायन्स सहकार्य गर्दै अगाडी बढ्ने बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका को–चिफ एडभाइजर धर्मराज श्रेष्ठले लायन्स क्लबले कम भाग्यशाली व्यक्तिहरुलाई सहयोग गर्दै आएको बताए । उनले लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले पवित्र कार्य गरेको बताए । लायन्स क्लब अफ भैरहवा डाइनामिक टिचर्सका अध्यक्ष विना भण्डारी पाठकले लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले सामाजिक कार्यलाई अगाडी बढाएको बताइन् ।
बौद्धिक अपांगता अभिभावक संघ रुपन्देहीका अध्यक्ष बाबुराम केसीले लायन्सले गरेको सहयोगले बौद्धिक अपांगता भएका व्यक्तिको अभिभावकलाई हौसला प्रदान भएको बताए । उनले स्थानीय सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष तथा लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले आवश्यक परेका संघ–संस्थाले लायन्स क्लबले यस्तै किसिमले सहयोग गर्दै जानुपर्ने बताए । उनले लायन्स सिद्धार्थनगर लोटसका अध्यक्ष मन्जु खरेलले जन्मदिनको अवसरमा पुण्य काम गर्नुभएको बताए ।
लायन्स सिद्धार्थनगर लोटसका अध्यक्ष मन्जु खरेलले बौद्धिक अपांगता अभिभावक संघलाई सहयोग गर्न पाउँदा खुशीको अनुभुति भएको बताइन् ।
क्लबका अध्यक्ष मन्जु खरेलको अध्यक्षता, कार्यक्रम संयोजक अनिता थापा क्षेत्रीको स्वागत, शान्ता योगी रोक्का ध्वजा अभिवादन तथा सचिव सरिता आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij