२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मुख्य प्रशिक्षक ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने

शनिवार , भाद्र १२, २०७८

काठमाडौँ, १२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने भएका  छन्  । 

नेपाल क्रिकेट सङ्घ (क्यान)लाई आज इमेल पठाउँदै उनले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिएका हुन् ।

ह्वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । हाल उनी त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका छन् । ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासित दुई/दुई खेल खेल्ने तय भएको छ । 

ह्वाटमोर आठ महिना अघि एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । क्यानले खुला प्रतिस्पर्धाबाट उनलाई प्रशिक्षक नियुक्त गरेको थियो । कोरोना महामारीका कारण बाँकी समय परिवारका साथ बिताउने भन्दै ह्वाटमोरले राजीनामा पत्र इमेल गरेको ।  क्यानले जनाएको छ ।  रासस