२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

साउनमा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी इञ्चार्ज पुरस्कृत 

शनिवार , भाद्र १२, २०७८

भैरहवा, १२ साउन । 
साउन महिनामा उत्कृष्ट कार्य गर्ने तीन जना प्रहरी इञ्चार्ज पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा वडा प्रहरी कार्यालय भैरहवामा कार्यरत प्रहरी निरीक्षक सुवास तिमिल्सिना, प्रहरी चौकी कालिदहमा कार्यरत प्रहरी नायव निरीक्षक तारा बहादुर छहारी र प्रहरी चौकी मैनिहवामा कार्यरत प्रहरी सहायक निरीक्षक पदम बुढा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाभित्र कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम तीनजनालाई नगदसहित पुरस्कृत गरिएको डीएसपी थापाले जानकारी दिए ।
साउन महिनामा ‘हाई इन्टीग्रीटी स्कोर’ प्राप्त गर्ने प्रहरी कार्यालयका इञ्चार्जहरुलाई ‘हाई इन्टीग्रीटी इञ्चार्ज अवार्ड’ र नगद पुरस्कार प्रदान गरिएको उनले बताए ।

‘तीनजनाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै जिल्ला प्रहरी कार्यालयबाट सञ्चालन गरिएको फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टीग्रीटी स्कोर प्राप्त गरी कार्यालयको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्रव्यवसायिक गतिविधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले पुरस्कृत गरिएको हो, ’उनले भने ।

उत्कृष्ट कार्य गर्ने तीन जना प्रहरी इञ्चार्जहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार केसीले पुरस्कार प्रदान गरेका थिए ।