
शनिवार , भाद्र १२, २०७८
परासी, १२ भदौ । पश्चिम नवलपरासीमा बाढीले करोडौंको क्षति पुर्याएको छ । अबिरल बर्षाका कारण जिल्लामा आएको ठुलो बाढीले जिल्लाको विभिन्न पालिकाका उद्योग तथा पसलहरु डुबानमा परि कराडौँको क्षति भएको अनुमान गरिएको छ । बाढीले बढि क्षति रामग्राम नगरपालिकामा पुर्याएको भेटिएको छ । बाढीले जिल्लाका आधा दर्जन उद्योगहरु डुबानमा परेका छन् भने सयबढि पसल व्यवसाय तथा ५ सय बढि घरहरु डुबानमा परि क्षति भएको अनुमान गरिएको छ ।
बाढीले परासी बजारका मडिकल, किराना पसल, कपडा पसल, बुक एण्ड स्टेशनरी, प्लास्टिक पसल, ईलेक्ट्रिक पसल, मोबाईल पसल, होटल रेष्टुरेन्ट, भेटनेरि पसल, कस्मेटिक पसल, लगायतका पसलहरु डुबानमा परि करोडौँको क्षति भएको छ भने पोखरापाली लगायतका क्षेत्रका विभिन्न उद्योगहरु पनि डुबानमा परि करोडबढिको क्षति भएको उद्योगीहरुले दावी गरेका छन् । यता सरावल गाउँपालिका ३ पिपरा महुवा स्थित आरती एग्रो ईण्डष्ट्रिज उद्योग पनि डुबानमा परि करोडबढि क्षति भएको उद्योगको दावी छ ।
त्यस्तै बाढीले जिल्ला प्रहरी कार्यालय, सेना ब्यारेक, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञानकेन्द्र, शिक्षा कार्यालय, स्वास्थ्य कार्यालय, विद्युत प्राधिरण, खानेपानी तथा सरसफाई डिभिजन, घरेलु तथा साना उद्योग लगायतका सरकारी कार्यालयहरु पनि डुबानमा परि कम्प्युटर, फर्निचर, कागजपत्र लगायतका महत्वपुर्ण सामाग्रीहरु समेत भिजेको छ ।
त्यस्तै सुस्ता गाउँपालिका वडा १ मा पनि बरुवा बस्ती र पसलहरु डुबानमा परेको छ । त्यस्तै सरावल गाउँपालिका ६, पाल्हीनन्दन गाउँपालका वडा १, ३ र ६ बाढीले बढि प्रभावित भएको छ । जिल्लाको सुनवल नगरपालिका, बर्दघाट नगरपालिका पनि बाढीले निकै प्रभावित भएको छ । यि जम्मै क्षतिको यथार्थ विवरण अझै आईसकेको छैन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij