२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

भैरहवा वितरक संघमा राजकुमार जोशी

शनिवार , भाद्र १२, २०७८

भैरहवा, १२ भदौ । 
भैरहवा वितरक संघको प्रथम अधिवेशनले राजकुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा अभिनव मयुर कसौधन, महासचिवमा कुलानन्द पोखरेल, कोषाध्यक्षमा विजय बहादुर कोइरी र सचिवमा धर्मेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् । 

त्यस्तै कार्यसमिति सदस्यहरुमा मनिष अग्रवाल, महेन्द्र कुमार गुप्ता, इश्वरप्रसाद सुवेदी, कपिल ज्ञवाली, मोहन पन्थी र प्रकाश अधिकारी रहेका छन् । 
अधिवेशन उद्घाटन गर्दै संविधानसभा सदस्य आदित्य नारायण कसौधनले वितरकहरु उद्योग र कम्पनीबाट विभिन्न समस्यामा पर्ने गरेकाले आपसी एकता र सहकार्य जरुरी रहेकोमा जोड दिए । 

संघका सल्लाहकार मनिषकुमार जोशीले अवधारणापत्र प्रस्तुत गर्दै वितरकहरुले डिलर परिवर्तन गर्नुअघि संघले जारी गरेको नो अब्जेक्सन लेटरमा सम्बन्धित वितरकको लिखित सहमति अनिवार्य गर्नुपर्ने बताए । त्यस्तै खुला सीमाबाट भन्सार छली गरी ल्याइने वस्तु खरिद नगर्ने, कम्पनीले लिने बैंक ग्यारेन्टी वापतको रकम सम्बन्धित कम्पनीले नै तिर्नुपर्ने, कमिसन रकम समय सापेक्ष बृद्धिका लागि सामूहिक पहल गर्नुपर्ने अवधारणापत्रमा जोड दिइएको छ । 

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन लुम्बिनी प्रदेश महासचिव खिमनारायण पराजुली, उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोविन्दराज गैरे, नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर इञ्चार्ज तिर बहादुर रोका (डार्बिन), सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका उपाध्यक्ष नेत्र प्रसाद आचार्य, उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष दर्पण श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी लगायतले स्वदेशी उत्पादनको विक्री वितरणलाई प्राथमिकता दिन संघलाई सुझाव दिएका थिए ।