
आइतवार , भाद्र १३, २०७८
भैरहवा, १३ भदौ । भैरहवासहित नेपालका अधिकांश क्षेत्रमा अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । कतिपय स्थानमा बाढीपहिरोले धनजनको क्षति भएको छ । अविरल वर्षाका कारण केही स्थानमा सडक पुल तथा सडक भासिएको छ । यो अवस्थामा सामाजिक क्षेत्रमा क्रियाशिल एक संस्थाले वृक्षारोपण गरेको छ । क्लबको प्रथम स्थापना दिवसको अवसर पारेर वर्षाका बाबजुद छाता ओढेर लायन्स क्लब अफ भैरहवा युथका सदस्यहरुले भैरहवामा वृक्षारोपण गरेका हुन् ।
‘लायन्सको विधा अनुसार वातावरण संरक्षणका लागि वृक्षारोपण गर्नुपर्छ भन्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा आइतबार बिहान छाता आढेर विरुवा रोपेका छौं, वर्षाले हामीलाई रोकेन, क्लबका वर्ष २०२१÷२२ का अध्यक्ष सन्तोष शुक्लाले भने । ’मन्दिर परिसरमा ४० वटा विरुवा रोपिएको शुक्लाले जानकारी दिए । मन्दिर परिसरमा क्लबले शौचालय निर्माणका लागि समेत सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले स्थापना अवधिको छाटो समयमै लायन्स क्लब अफ भैरहवा युथले रचनात्मक कार्यहरु गर्न सफल भएको बताए । उनले आफूले क्लबलाई सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । ‘म क्लबको साथमा छु, ’उनले भने ।
श्री राम जानकी हनुमान मन्दिर समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले क्लबले सकारात्मक काम गरेको बताए । समाजसेवी महेश जैसवालले मन्दिर परिसरमा वृक्षारोपण गर्नु प्रशंसनीय कार्य भएको बताए । समाजसेवी अजय कुमार गुप्ताले सामाजिक कामलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।
लायन्स क्लब अफ भैरहवा युथका अध्यक्ष सन्तोष शुक्लाको अध्यक्षता, कार्यक्रम संयोजक राम नारायण ठाकुर (मुन्ना)को स्वागत, क्लबका जनसम्पर्क अधिकारी दीपक घिमिरेको ध्वजा अभिवादन तथा सचिव क्षितिज पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij