
सोमवार , भाद्र १४, २०७८
भैरहवा, १४ भदौ ।
रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगतका बाढीप्रभावित क्षेत्रमा पुगेर स्थानीयवासीसंग भेटघाट गरेका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण समस्यामा पहेका रोहिणी गाउँपालिकाका विभिन्न वडावासीसँग भेट गरी विश्वकर्माले त्यहाँको अवस्थाको बारेमा जानकारी लिएका हुन् ।
उनले रोहिणी गाउँपालिका–५ मा तुरीया खोलाले गरेको कटान र वरवा गाउँमा भएको डुवानले पारेको प्रभावको वारेमा स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसंग जानकारी लिएका छन् । सो अवसरमा वरवा गाउँका स्थानीयवासीले आफूहरुको ५०÷६० विघा खेतीयोग्य जमिन धानवालीसहित बाढीबाट कटान भएको बताएका थिए । कटान क्षेत्रको अवलोकन गर्दै उनले जलउत्पन प्रकोप कार्यालयसंग समन्वय गरी नदी कटान समस्या समाधान गर्ने बताए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका विश्वकर्माले रोहिणी गाउँपालिका भएर बग्ने रोहिणी खोला, वघेला खोला तथा महाउ खोलाले पुर्याएको क्षति र प्रभावको अवलोकन गरेका थिए । अवलोकनका क्रममा सडक डिभिजन कार्यालय बुटवलका प्राविधिक इञ्जिनियरको टोलीले नदीमा निर्माण भएको पुलको संरक्षण तथा नदी नियन्त्रणका लागि सडक डिभिजन कार्यालयकोतर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पूर्वमन्त्री विश्वकर्माले रोहिणी गाउँपालिका वडा नम्बर ५ र ६ को विष्णुपुरा, नौडिहवा, वोधवार, ईमलिहवा, बुचि र वरवाका बाढीप्रभावित स्थानीयवासीसंग भेट गरी राहत र उद्धारका लागि पहल गर्ने बताए । सो अवसरमा गाउँपालिका, रेडक्रस, अन्य सहयोगी संस्था र सरकारकोतर्फबाट राहत उपलब्ध गराउनका लागि प्रक्रृया अघि बढाइएको समेत उनले जानकारी दिए ।
दशगजा क्षेत्रको नेपाली भु–भागमा भएको डुबानको मूख्य कारण भारतीयले एकपक्षीय ढंगले निर्माण गरेको पूर्व–पश्चिम सडकखण्ड भएको बताउँदै विश्वकर्माले कुटनीतिक पहलका आधारमा त्यसलाई समाधान गरिने बताए ।
सो अवसरमा नेकपा एमालेका नेता गुणाखर भुसाल, पार्टीका जिल्ला सचिवालय सदस्य संजय गुप्ता, जिल्ला सदस्य नरसिंह चौधरी, पार्टीका नेता शैलेन्द्र उपाध्याय, सुनिल कौशल, मुस्ताक अहमद खाँ, अमिन तेली, चिन्ताहरण चौधरी लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij