
सोमवार , भाद्र १४, २०७८
परासी, १४ भदौ ।
नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १८ का १३५ जना बाढीप्रभावित परिवारलाई राहत वितरण गरिएको छ । रामग्राम नगरपालिकाको समन्वयमा ग्लोबल आईएमई बैंकले उक्त वडाका १३५ जना बाढीप्रभावित परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । प्रतिपरिवार चामल १५ किलो चामल, चिउरा २ किलो, दाल १ किलो, तेल आधा लिटर, नुन १ प्याकेट, बेसार २ प्याकेट, पानी १ कार्टुन वितरण गरिएको बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंक लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठको अध्यक्षतामा नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बाढीप्रभावित परिवारलाई उक्त राहत वितरण गर्दै दुर्गन्धित बाढीको पानीबाट उत्पन्न हुने विभिन्न रोगहरुबाट बच्न र सरसफाईमा ध्यान दिन आग्रह गरे । नगरप्रमुख गुप्ताको पहलमा बैंकले वितरण गरेको राहत कार्य निकै सामाजिक तथा मानवीय भएको गुप्ताले प्रशंसा गर्दै थप वडाहरुमा राहत वितरणका लागि विभिन्न बैंक तथा वित्तीय संघसंस्थाहरुसंग पहल भैरहेको बताए । उनले यस्तो विपद्का बेलामा नगरपालिकाले आफनो नगरका अति बाढीपिडित परिवारलाई खाद्यान्न खरिद गर्न नगद रु २ हजार रुपैयाँको दरले वितरण समेत गरिरहेको जानकारी दिदै यस्तो विपत्तिको बेलामा राहत वितरण कार्यमा हातेमालो गर्न यहाँका अरु संघ–संस्थाहरुलाई आग्रह गरे ।
बैंकले यस्तो विपद्का बेलामा पीडित परिवारलाई राहत पुगोस् भनि यो राहत वितरण गरेकोमा निकै खुशी हुदै आफूहरु विपद्का बेलामा समाजमा अग्रसर भइ सामाजिक कार्यहरु गर्दै आएको बैंकका प्रदेश प्रमुख रवि श्रेष्ठले जानकारी दिए । प्रमुख श्रेष्ठले बंैक सामाजिक दायित्वबाट पछाडी नहटने र पालिकाका थप वडा तथा विभिन्न पालिकाका बाढीप्रभावित क्षेत्रहरुमा अझै राहत वितरण गर्ने आश्वासन दिए ।
राहत वितरण कार्यक्रममा रामग्राम नगरपालिका वडा नम्बर १८ का अध्यक्ष गोपाल डिस्वा मगर, कार्यपालिका सदस्य रोशन शाह, बंैकका प्रदेश उपप्रमुख जोगलाल भुषाल, बंैकको परासी शाखा प्रबन्धक प्रदिप सापकोटा, भुमही शाखा प्रबन्धक विमलेश चोधरी लगायत बंैकका कर्मचारी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij