
मंगलवार , भाद्र १५, २०७८
बुटवल, १५ भदौ ।
पुर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको एकहप्ता बितिसक्दा समेत सडक सुचारु हुन नसकेकोप्रति प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले ध्यानाकर्षण भएको बताएका छन् । देवदहको घोडाहा खोलाको पुल भासिएको लामो समय बित्दा समेत सरकारले सडक सुचारु गराउन नसक्नु लज्जाको विषय भएको उनले बताए ।
भासिएको पुलको अवलोकन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य विश्वकर्माले सडकमा सवारी आवागमन ठप्प हुँदा सर्वसाधारणको जनजीवन प्रभावित बनेको भन्दै त्यसलाई सरकारले तत्काल सहज बनाउनुपर्नेमा जोड दिए ।
सडक डिभिजन कार्यालय बुटवलका प्राविधिक इञ्जिनियरलाई समेत पुल अवलोकनमा सहभागी गराई सांसद विश्वकर्माले वैकल्पिक व्यवस्था गरी तत्काल यातायात सुचारु गराउन आग्रह गरेका छन् । यातायात सेवा ठप्प भएका कारण नागरिकलाई भएको असहजताको वारेमा ध्यान दिनुपर्नेमा जोड दिदै पूर्वमन्त्री विश्वकर्माले धेरै दिनसम्म यस्तै अवस्था रहे जनताको धैर्यताको बाँध टुटेर जाने बताए । उनले भने, ‘जनतालाई सेवा र सुविधा दिनु राज्यको दायित्व हो तर यहाँ राज्यले जनतालाई सेवा र सुविधा होइन सास्ती मात्रै दिइरहेको छ ।’
त्यसै गरी सोही अवसरमा वोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देहीका ईञ्चार्ज दधिराम न्यौपानेले पुलको वैकल्पिक व्यवस्था गरेर आवागमनलाई सहज बनाउन समेत नसक्ने सरकारप्रति जनताको विश्वास नरहेको दावी गरे। यतिका दिन वित्दा समेत सडक सुचारु गर्न नसक्नेहरुले देशको विकास गर्न सक्छन भन्ने कसरी विश्वास गर्न सकिन्छ ? उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij