
बुधवार , भाद्र १६, २०७८
भैरहवा, १६ भदौ ।
रोहिणी सिंचाइ आयोजनाको त्रुटीपूर्ण निर्माण प्रक्रियाका कारण आफुहरु डुवान प्रभावित हुनु परेको रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ र ३ का स्थानीयवासीले गुनासो गरेका छन् । प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेसहितको अनुगमन टोलीलाई भेटेर उनीहरुले प्राविधिक रुपमा कमजोर योजनालाई तत्काल रोक्नुपर्ने माग गरेका हुन् ।
योजनाकै कारण आफुहरु वर्षौ देखि डुवानमा परेको बताउँदै स्थानीयवासीले तटीय क्षेत्रका जनताको हितविपरीत निर्माण गरिएको योजनाले अत्याधिक कष्ट दिएको बताए । सिंचाइ आयोजना क्षेत्र र त्यसबाट प्रभावित वस्तीको अवलोकन गर्दै नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री विश्वकर्माले जनताको भावना र चाहना अनुरुप नै योजना अघि बढाउन पहल गर्ने बताए ।
जनताको हित प्रतिकुल हुने गरी योजना अघि वढन नसक्ने बताउँदै नेता विश्वकर्माले डुवान प्रभावितका लागि राहत उपलब्ध गराउन आफुले जोड दिएको जानकारी दिइ । विकासका कामहरुले जनतालाई उपलब्धि हुनुपर्ने भन्दै विश्वकर्माले यथास्थितिमा योजनालाई अघि बढन नदिईने धारणा राख्नु भयो ।
स्थानीयवासीको माग अनुसार योजनालाई सुधार गरेर जनतालाई प्रभाव नहुने ढुक्क भए पछि मात्रै निर्माण कार्यलाई अघि बढाइने उनले बताए । अवलोकनका क्रममा देवदह–२ का वडा अध्यक्ष धर्मागत पाण्डे, देवदह–३ का वडा अध्यक्ष वैकुण्ठ कुंवरले वडामा भएका डुबान प्रभावका बारेमा जानकारी गराएका थिए ।
अवलोकनमा नेकपा एमालेका सचिवालय सदस्य ऋषिराम सापकोटा, जिल्ला सदस्य प्रकाश अर्याल, नगर कार्यपालिका सदस्य बन्धु कुमाल लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij