२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

सहमतिपछि भीम अस्पतालका कर्मचारीले तोडे अनसन

बिहिवार , भाद्र १७, २०७८

भैरहवा, १७ भदौ ।
विभिन्न माग राख्दै अनशनमा बसेका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मी र व्यवस्थापन पक्षबीच सहमति जुटेको छ । विभिन्न ६ वटा माग राख्दै बुधबार दिउँसोबाट आमरण अनशनमा बसेका स्वास्थ्यकर्मीले मागका विषयमा सम्बोधन हुने सहमतिमा २४ घण्टा पछि अनसन ताडेका हुन् । 

अस्पताल परिसरमा बसेका अनशनरत कर्मचारीको माग सम्बोधन गर्नका लागि समितिले गठन गर्ने र सो समितिले मागहरुको बारेमा अध्ययन गरी सात दिनभित्र भीम अस्पताल विकास समिति समक्ष प्रतिवेदन पेश गर्ने र त्यसका आधारमा माग सम्बोधन गर्ने सहमति पछि आन्दोलन टुंगिएको हो ।
अस्पताल प्रशाशनका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ता र अनशनरत कर्मचारीको तर्फबाट गोपाल उपाध्यायले हस्ताक्षर गरेका छन् । उक्त सहमतिको रोहबरमा अस्पताल समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, अस्पताल पूर्व अध्यक्षद्वय हितराज पन्थी, आनन्द प्रसाद गुप्ता र स्वास्थ्यकर्मी शशिकान्त उपाध्याय रहेका छन् । 

डा. बद्री बैदवारको संयोजक रहेको समितिमा गोविन्द बहादुर ज्ञवाली र गोपाल उपाध्याय सदस्य रहेका छन् । समितिले सात दिनभित्र कर्मचारीका मागका सम्बन्धमा प्रतिवेदन तयार गरी बुझाउनुपर्नेछ । अनशनरत अहेव गोपाल उपाध्यायले आफूहरुले राखेका कतिपय मागहरु सम्बोधन भइसकेको र सम्बोधन हुन बाँकी सम्बोधन समितिले दिएको प्रतिवेदनपछि सम्बोधन हुने सहमतिपछि अनशन तोडेको बताए ।  

अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालमा कार्यरत कर्मचारीले उठाएका मागका सम्बन्धमा समिति बनेको र समितिले तयार पारेको प्रतिवेदनका आधारमा मागहरु सम्बोधन गरिने बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले अस्पताल र स्वास्थ्यकर्मीबीच भएको सहमति भएसंगै अस्पतालको विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले अस्पतालमा आगामी दिनमा आन्दोलन गर्न नपर्ने गरी काम गर्न अस्पताल प्रशासन र कर्मचारीलाई आग्रह गरे ।