
मंगलवार , श्रावण ६, २०७७
भैरहवा ।
भैरहवामा जारी अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिता अन्र्तगत मंगलबार भएको खेलमा शंकरनगर क्रिकेट क्लब रुपन्देही र गुजरात लायन्स पाकिस्तान विजयी भएका छन् । शंकरनगरले राइनोज क्रिकेट क्लब काठमाण्डौलाई ३ विकेटले र गुजरात लायन्सले सहारा क्रिकेट क्लब हैदराबाद (भारत)लाई ५ विकेटले पराजित गरेको हो ।
टस जितेर व्याटिङ गरेको राइनोजले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ८८ रन बनायो । उसका लागि रोहित कुमार पौडेलले २९ र मन बहादुर थापाले ८ रनको योगदान गरे । बलिङमा शंकरनगरका दुर्गेश गुप्ताले ३, साहब आलम र विक्रम भुसालले २÷२ तथा सन्दिप सुनार र अनिल खरेलले १÷१ विकेट लिए ।
जवाफमा शंकरनगरले १९ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै ९० रन बनायो । उसका लागि सौरभ खनालले ४१ र प्रज्जवल थापाले १७ (नटआउट) रनको योगदान गरे । बलिङमा राइनोजका सुर्य तामाङले ३, रोहित कुमार पौडेलले २ तथा कमलसिंह ऐरी र धिरज शाहीले १ विकेट लिए । खेलमा शंकरनगरका दुर्गेश गुप्ता म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा टस जितेर व्याटिङ गरेको सहारा क्रिकेट क्लब हैदराबाद (भारत)ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४४ रनको योगफल बनायो । उसका लागि अबले ४० (नटआउट), राजले ३९ र साईदुर्गाले १६ रनको योगदान गरे ।
बलिङमा फराद खानले २ र इलियास रजाले १ विकेट लिए । जवाफमा गुजरात लायन्सले १८ दशमलब ५ ओभरमा ५ विकेट गुमाउँदै १४७ रन बनायो । उसका लागि अर्बुरहमानले ७५ (नटआउट), मजिद इलियासले २४ र सैद इसरार साहले १७ रनको योगदान गरे । बलिङमा सहारा क्रिकेट क्लबका अब र भासमीले २÷२ तथा पवनले १ विकेट लिए । खेलमा गुजरात लायन्सका अर्बुरहमान म्यान अफ द म्याच घोषित भए ।
बुधबारको पहिलो सेमिफाइनल खेल राइनोज क्रिकेट क्लब काठमाण्डौ र असरक ग्लोबल स्पोर्टस् बंगलादेश तथा दोस्रो सेमिफाइनल खेल शंकरनगर क्रिकेट क्लब रुपन्देही र वेस्टर्न क्रिकेट क्लब बुटवलबीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
भैरहवा क्वीन्स प्रा.लि.को आयोजना, राइनो स्पोर्ट्सको संयोजन तथा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश पाकिस्तानका गरी ८ वटा व्यवसायिक क्लबले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको ह्वाक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएसले प्रायोजन गरेको छ भने प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij