२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

लायन्स भैरहवा गौतमबुद्वको आयोजनामा कृष्णराधा सज्जा प्रतियोगिता

आइतवार , भाद्र २०, २०७८

भैरहवा, २० भदौ ।
लायन्स क्लब अफ भैरहवा गौतमबुद्धको आयोजनामा कृष्णराधा सज्जा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेतालाई शनिबार एक कार्यक्रमकाबीच क्लबले नगदसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरेको हो । ७६ जना बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा दिव्यान श्रेष्ठ प्रथम, अभ्या यादव द्वितीय र साक्षी उपाध्याय तृतीय भएको कार्यक्रम संयोजक गोविन्द प्रसाद गुप्ताले बताए । कार्यक्रममा सहभागि बालबालिकालाई पनि प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक कृपा श्रेष्ठले बताइन् ।

कृष्ण जन्माष्टमीको अवसर पारेर कृष्णराधा सज्जा प्रतियोगिताको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष पिन्टु बनियाले बताए । अध्यक्ष बनियाका अनुसार १० वर्ष उमेरसम्मका बालबालिकाले भाग लिएको उक्त प्रतियोगितामा कृष्ण वा राधाको भुषभुषामा सजिएको तस्विर फेसबुक पेजमा राख्न वा वाटसप्मा पठाउन आग्रह गरिएको थियो । सोही आधारमा तस्विरको बढी लाइक, शेयर र पोष्टको आधारमा विजेता घोषणा गरिएको उनले बताए । प्रतियोगितामा सहभागि हुन दर्ता शुल्क नलिइएको उनले जानकारी दिए ।

कृष्णराधा सज्जा प्रतियोगिता–२०७८ पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले स्थापनाकालदेखि नै लायन्स क्लब अफ भैरहवा गौतमबुद्धले रचनात्मक कार्य गर्दै आएको बताए । उनले आगामी दिनमा पनि सामाजिक कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका निवर्तमान अध्यक्ष अरुण कुमार मिश्रले बालबालिकाहरुलाई कृष्णराधा सज्जा प्रतियोगितामा सहभागि गराउने अभिभावकहरु पनि धन्यवादको पात्र भएको बताए । उनले लायन्स भैरहवा गौतमबुद्धले बालबालिकाहरुलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम गरेको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका संस्थापक सचिव रविकान्त उपाध्यायले कोरोना संक्रमणको जोखिमका कारण चाडपर्वहरु भव्य रुपमा मनाउन सक्ने अवस्था नरहेको बेला क्लबले चाडपर्वको संरक्षणमा टेवा पुर्याउने कार्य गरेको बताए । उनले कृष्णराधा सज्जा प्रतियोगिता सफल भएको बताए ।

लायन्स भैरहवा गौतमबुद्धका संस्थापक अध्यक्ष पिन्टु बनियाको अध्यक्षता, कार्यक्रम संयोजक कृपा श्रेष्ठको स्वागत, क्लबका सदस्य निसार खानको स्वागत तथा सचिव दुर्गा कान्दुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । लायन्स क्लब अफ भैरहवा गौतमबुद्ध लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको स्पोन्सरमा स्थापना भएको लायन्स सिद्धार्थनगर गौतमबुद्धका तृतीय उपाध्यक्ष राजन शुक्लाले जानकारी दिए ।

IMG_3160.JPG