
आइतवार , भाद्र २०, २०७८
बुटवल, २० भदौ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा गठन भएको भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठानका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ । भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि स्थानीय तहबाट स्थानीय स्तरको प्रज्ञा प्रतिष्ठानको मोडलमा पालिकाले कानुन बनाएर गठन भएको यो मुलुककै पहिलो प्रतिष्ठान हो ।
भाषा, साहित्य, कला र संस्कृति प्रतिष्ठान स्थापना र सञ्चालनका लागि बनाइएको ऐन बमोजिम उक्त प्रतिष्ठान गठन भएको थियो । उपमहानगरका प्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक शिवराज सुवेदीले आइतबार एक संक्षिप्त समारोहबीच प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीलाई सपथ ग्रहण गराएका थिए । त्यस्तै अध्यक्ष जिसीले पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
सपथ ग्रहण गराएपछि संक्षिप्त शुभकामना व्यक्त गर्दै प्रमुख सुवेदीले बुटवलको पहिचान बढाउने खालको भाषा, साहित्य र सिर्जनाका कामलाई प्राथिमकतामा राखेर अभियान सञ्चालन गर्न जरुरी रहेको उल्लेख गरे ।
राष्ट्रिय स्वाभिमानको जितगढी किल्लालाई केन्द्रमा राखेर समग्र बुटवलको पहिचान स्थापित गर्ने गरी साहित्य साधनाका काम अगाडि बढाउनुपर्ने बताउँदै प्रमुख सुवेदीले अभियानमा सबै क्षेत्र र पक्षलाई समेटेर अगाडि बढ्न आग्रह गरे । उपप्रमुख तथा प्रतिष्ठानका संरक्षक गुमादेवी आचार्यले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि आ–आफ्नो प्रतिभालाई सदुपयोग गरेर असल नियतका साथ जिम्मेवारी बहन गर्दै अगाडि बढ्न आग्रह गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेल लगायतले प्रतिष्ठानलाई कार्ययोजना बनाएर प्रभावकारी र रचनात्मक अभियान सञ्चालन गर्न आग्रह गरे । विज्ञ झपेन्द्रबहादुर जिसीको अध्यक्षतामा गठित प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मी गुरुङ, सचिवमा दलबहादुर गुरुङ र कोषाध्यक्षमा सीता ढुंगाना काफ्ले रहेका छन् ।
प्रतिष्ठानका सदस्यहरुमा डा. शालिकराम पौडेल, इन्दिरा अर्याल, नारायण बहादुर थापा, चिरन बराल, कपिल ज्ञवाली, चौतारे थारु, रामचन्द्र श्रेष्ठ, झविन्द्र थापा र बीरेन्द्र अग्रहरी रहेका छन् ।
प्रतिष्ठानले कार्ययोजना बनाउने, मनोनित गर्ने, सल्लाहकार छनौट गर्ने र विद्वत् सभामा पेश गर्नेलगायतका काम गरिने अध्यक्ष जिसीले बताए ।
प्रतिष्ठानको आइतबारै बसेको प्रथम बैठकले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि अभियान सञ्चालन गर्ने अवसर दिएको भन्दै उपमहानगरलाई आभार प्रकट गरेको छ । साथै आगामी १० महिने कार्ययोजना बनाउने समेत निर्णय गरेको सचिव दलबहादुर गुरुङले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij