२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

भैरहवामा मनाइयो मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवस

दिवस मनाउन स्थानीय सरकारले ध्यान दिन नसकेको गुनासो

आइतवार , भाद्र २०, २०७८

भैरहवा, २० भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले १५ औं राष्ट्रिय मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवस मनाएको छ । सिद्धार्थ नगरपालिकाको आयोजना तथा जिल्ला महिला बाल अधिकार संजालको समन्वय र माइती नेपालको संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रममा एबीसी नेपाल, नमुना एकीकृत विकास परिषद्, रुपन्देही, सिद्धार्थ सामुदायिक समाज, शुभ अवसर ग्राम नेपाल, आफन्त नेपाल, थ्री एन्जल्स नेपाल, आफन्त नेपाल, साना हातहरु नेपाल, एक्लोलाई सहारा दिने वृक्ष समूह, रुपन्देही एफ.एम. र वडा प्रहरी कार्यालय, भैरहवा लगायतको उपस्थिति रहेको थियो ।

सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार जस्तो अति नै संवेदनशील र महत्वपूर्ण विषयमा पनि स्थानीय तह मौन रहनु निकै आश्चर्य लागेको बताइन् । विश्वमा मानव बेचबिखन तथा ओसार पसार धन्दाको रुपमा सञ्चालन भइरहेको र यसबाट नेपाल पनि अछुतो रहन नसकेको अवस्थामा यसको निराकरणका लागि सबैको सहकार्य हुनुपर्नेमा उनले बताइन् ।

‘आजको महत्वपूर्ण दिनमा पनि कोरोनाको कारण देखाई स्थानीय तहहरु मौन रहनु र सीमित संस्थाको पहलमा सामान्य कार्यक्रम गरी आजको राष्ट्रिय दिवस मनाउनुपर्ने अवस्था आउनु अत्यन्त दुःखद रहेको र कोरोनाको अवस्था र यसबाट पर्न सक्ने असरबारे सरकारले जारी गरेको सुरक्षाको मापदण्डको उच्च पालना गरी सबै सतर्कता अपनाएर कार्यक्रम संचालन गर्न सकिने र अहिले देशमा राजनीतिक पार्टीहरुले गरेका ठुला बैठक, अधिवेशनहरुतर्फ स्थानीय सरकारको ध्यान नपुग्नु तर राष्ट्रिय दिवस मनाउनेतर्फ चासो कम रहनु दुर्भाग्य हो, उनले भनिन् ।

कार्यक्रममा महिला बाल अधिकार संजाल रुपन्देहीका संयोजक समिता मल्लले मानव बेचबिखन तथा ओसारपसार नेपालको मात्रै समस्या नभएर विश्वकै समस्या रहेको हुनाले यसतर्फ सबैको चासो रहनुपर्ने बताइन् ।

कार्यक्रममा एबिसी नेपालका क्षेत्रीय प्रमुख मनोज लामिछानेले विश्वमा हात हतियार र लागुऔषध पछि मानव बेचबिखन तथा ओसारपसारको व्यापार तेस्रो रुपमा रहेको र यसलाई रोकथाम गर्न सबैको ऐक्यवद्धताको खाँचो रहेको बताए । कार्यक्रम माइती नेपालकी रुपन्देही जिल्ला प्रमुख माया क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फोटो.jpg