२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

रोटरी क्लब अफ बुटवलको इन्डक्सन कार्यक्रम

आइतवार , भाद्र २७, २०७८

बुटवल, २७ भदौ ।
रोटरी क्लब अब बुटवलमा प्रवेश गर्ने नयाँ सदस्यहरुको क्लव इन्डक्सन कार्यक्रम एवं १३८१ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लब इन्डक्सन कार्यक्रममा रोटरी इन्टरनशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजूले रोटरी विश्वभर सञ्जाल भएको सामाजिक संस्था भएको चर्चा गर्दै रोटरी क्लब अफ बुटवलले पनि सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताए । उनले क्लबमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई क्लबले लिएको लक्ष्य र उद्देश्य अनुरुप स्वार्थ भन्दा माथि उठेर सेवा भावमा सहकार्य गर्न आग्रह गरे । 

यो वर्ष रोटरी क्लब अफ बुटवलमा १५ जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् । उनीहरुका बारेमा रोटरीयन रोम शर्माले विवरण प्रस्तुत गरेका थिए । नयाँ सदस्यता प्राप्त गर्नेहरुमा चुरामणि भुसाल, हेमलाल शर्मा भुसाल, इन्द्र भुसाल, विष्णु काफ्ले, रितु खनाल, गणेश प्रसाद ज्ञवाली, लोकराज पनेरु, लालमणि पन्थी, बुद्धिमान थापा, गोविन्द प्रसाद गैरे, दिपक प्रसाद श्रेष्ठ, राजु पुन, अर्जुन खनाल, नवराज बन्जाडे र दिपेशकुमार अग्रहरि रहेका छन् । नयाँ सदस्यहरुको इन्डक्शनसँगै अब रोटरी क्लब अफ बुटवल १२१ सदस्यीय भएको छ । सदस्य संख्याको हिसावले रोटरी क्लव अफ बुटवल डिष्ट्रिक ३२९२ मा सबैभन्दा ठूलो क्लब बन्न सफल भएको छ ।

क्लबमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई रोटरीको पिन प्रदान गरिएको थियो । रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष रामप्रसाद खरेल, क्लबका निवर्तमान अध्यक्ष सुनिल श्रेष्ठ, पूर्व अध्यक्ष राजेन्द्र लम्साल लगायतले रोटरीको लक्ष्य, उद्देश्य, सामाजिक क्षेत्रमा यसले खेलेको भूमिका, अन्तर्राष्ट्रियस्तरमा यसको सञ्जाल लगायतका बारेमा नयाँ सदस्यहरुलाई जानकारी गराएका थिए । 

कार्यक्रममा अध्यक्ष उपाध्याय, प्रेसिडेन्ट इलेक्ट बोनिन पिया, सचिव खिमनारायण पराजुली लगायतले रोटरीले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा गरेको सेवा कार्यको चर्चा गर्दै सबै मानिसले स्वार्थ भन्दा माथि उठेर समाजका लागि रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा ट्वीन क्लबको रुपमा सहभागिता जनाएका रोटरी क्लब अफ त्रिपुरेश्वरका चार्टड प्रेसिडेन्ट सन्तोष शर्माले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अर्को ट्वीन क्लब रोटरी क्लव अफ काठमाडौं डाउनटाउनका पदाधिकारीको पनि सहभागिता थियो ।
त्यस्तै कार्यक्रममा नयाँ सदस्यको रुपमा प्रवेश गरेका लोकराज पनेरु र राजु पुनले सामाजिक सेवाभावप्रतिको आकांक्षाले नै आफूहरु रोटरीमा प्रवेश गरेको र अग्रजहरुबाट सिकेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए ।