२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

३२ विगाहा जग्गा हडप्न खडा गरियो नक्कली हकवाला

मंगलवार , श्रावण ६, २०७७

परासी, ४ साउन ।
नक्कली जग्गाधनी खडा गरी नवलपरासीको ३२ विगाहा जग्गा बेचेको ठहर भएपछि अख्तियारले १३ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि पिडित किसानहरुमा खुशीयाली छाएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा ६ पडरीको ३२ विगाहा जग्गा भु–माफियाहरुले मालपोत, भुमि सुधार र साविक गाविसको कर्मचारीहरुको मिलोमतोमा नक्कली जग्गा धनी खडा गरी विक्री गरेको अख्तियारको अनुसन्धानले खुलेपछि भु–माफियासहित ती कर्मचारीहरुविरुद्ध अख्यिार दुरुप्योग अनुसन्धान आयोग बुटवलले भ्रष्टाचार मुद्धा चलाएको हो ।

अख्तियारले अनियमितता र अख्तियार दुरुप्योग गरी भ्रष्टचार गर्ने कर्मचारीहरुविरुद्ध मुद्दा चलाएपछि पडरी गाउँका जग्गा पिडित किसानहरुको पहिलो चरणको जीत भएको बताएका हुन् ।

अख्तियारको यस कदमलाई पडरी गाउँका पीडित किसानहरु स्वागत गर्दै भन्छन ‘‘अब हामी न्याय पाउने छौं, यो हाम्रो पहिलो चरणको जीत हो अब दोस्रो चरणको जीतका लागि सबै राजनीतिक दल र सरोकारवाला निकायहरुले हामी पीडित किसानहरुको न्यायका लागि विशेष अदालतबाट पनि उक्त मुद्दा जिताउन सहयोग गर्न आग्रह छ । ”

स्थानीय किसानहरुले पडरी गाउँमा वडा ६ का अध्यक्ष कृष्णचन्द्र यादवको अध्यक्षतामा गरेको सुझाव संकलन कार्यक्रममा स्थानीय समाजसेवी ईन्द्रमणि पाण्डेले उक्त मुद्दा अख्तियारसम्म पु¥याउन आवश्यक सबै प्रमाणहरु जुटाउन र भोगेको दुःख र पीडा सुनाउँदै अख्तियार र सहयोग गर्ने व्यक्तिहरुको प्रशंसा पनि गरेका हुन् । अब विशेष अदालतमा ती कर्मचारीहरुविरुद्ध अख्तियारले चलाएको भ्रष्टाचार मुद्दामा सबै दल र सरोकारवालाहरुले सहयोग गर्न पनि आग्रह गरेका हुन् ।

अख्तियारले चलाएको मुद्दा

जिल्लाको साविक सनई गाविस ८ ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकोमा भु–माफिया, मालपोत र भुमि सुधार कार्यालयका प्रमुख सहितका कर्मचारीहरु नक्कली जग्गाधनी खडा गरि रोक्का जग्गा फुकुवा गरी पास गरेर व्यापक भ्रष्टाचार गरेको ठहर भएपछि अख्तियारले १३ जनाविरुद्ध पाँच करोड पाँच लाख ४२ हजारको विगो दावी गर्दै भ्रष्टाचार मुद्दा चलाएको हो ।

अख्तियारले चलाएको मुद्दामा मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत रहेका बहालवाला सह–सचिव टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहर प्रसाद पन्थि, तत्कालीन नायब सुब्बाहरु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिवहरु नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहार, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदारहरु नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मुमगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिकका रविकुमार खत्रीविरुद्ध मुद्दा चलाएको हो । गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्रीबितरण गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

‘भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने र नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका गलत कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नम्बर तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२–२–१७.२५ बिघा जग्गाहरु समेत भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहरावाट बिक्री बितरण गराउने कार्यमा देहायका भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरु तथा स्थानिय निकायवाट सिफारिस दिने कर्मचारीहरु एवं स्थानीय व्यक्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिमको भ्रष्टाचारजन्य कसुरमा संलग्न रहे भएको तथ्य प्रमाणित हुन आएकोले देहायका व्यक्तिहरुको हकमा देहाय वमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसरी भएको थियो ३२ विगाहा जग्गा विक्री

नवलपरासीको सनई गाविसको वडा नम्बर ८ र ९ पडरी गाउँका किसानहरु उक्त ३२ विगाहा जग्गा तिन÷चार पुस्तादेखि मोही र हुण्डामा जोतभोग गरी भोगचलन गर्दै आएका थिए । सनई ८ र ९ को उल्ल्ेखित ३४ विगाहा जग्गा, भु–माफियाहरु मालपोत, भुमि सुधार र गाविसलाई मोटो आर्थिक प्रलोभन देखाई बेचिएको थियो ।

करिब ५० वर्र्ष अगाडी पडरी गाउँका जमिन्दार प्रेमशरण खत्रीले स्थानिय किसानहरुलाई आफ्नो जग्गा जोत भोग गर्न दिएका थिए । जमिन्दार खत्रीले किसानहरुलाई दिएको केही जग्गामा मोही लागेको थियो भने केही जग्गा हुण्डामा थियो । त्यति बेलादेखि नै जमिन्दार खत्री किसानहरुसंग हुण्डाको वर्षेनी पैसा पनि असुल्दै आएका थिए । जमिन्दार खत्रीले आफ्नै जीवनकालमा जग्गा पास गर्छु भन्दै टाल्दै मृत्युको मुख समेतमा पुगे । जमिन्दार खत्रीको मुत्युपछि उक्त जग्गा लिन उनको कुनै वारेपनि आएनन् । जग्गा यत्तिकै किसानहरुकै जोतभोगमा रहेको, मालपोत र भुमिसुधारबाट पनि रोक्का समेत रहिरहयो ।

लामो समयसम्म जग्गाको कोई वारेस नआएपछि भुमाफियाहरुले उक्त जग्गामा आँखा धँसाए र नक्कली जग्गाधनी खडा गरि बेच्ने योजना बनए । किसानहरुको जीवनमा दुखको घडि तब आइपुग्यो जब यहाँका भु–माफियाहरु नक्कली जग्गाधनी खडा गर्न दिल्लीमा चार्टड एकाउन्टेन्ट काम गरि बस्दै आएको अनुप मेहरालाई जमिन्दार मृतक प्रेमशरण खत्रीको वारेस बनाई नाता प्रमाणित समेत गराए । भारत बस्ने अनुप मेहरा नामक व्यक्ति जमिन्दार मृतक खत्रीको छोरा अनुप खत्री (वारेस) बनेर साविक गेरमी गाविसबाट नाता प्रमाणित गराइएपछि जग्गा बेच्ने खेल सुरु भयो जसले किसानहरुलाई पीडित मात्र होइन बेघर समेत बनाइदियो । नाता प्रमाणितको आधारमा ठुलो रकम घुस खुवाई भु–माफियाहरु करिब ५ करोड रुपैयामा उक्त ३२ विगाहा जग्गा आफनो नाममा पास गराए ।

पडरी गाउँका ६५ जना स्थानिय किसानको जोतभोगमा रहेका ३२ विगाहा जग्गा अनुप महराले विक्री गरेपछि किसानहरु बिचल्ली नै परे । भु–माफियाहरुले नक्कली जग्गाधनी खडा गरि जग्गा पास लिएपछि किसानहरु रुवाबासी नै छायो । जग्गा पाउने आश्वासनमा बसी रहेका किसानहरुसंग बेईमानी गर्दै दोहोरो नागरिकता भएको केही स्थानीय भु–माफिया यस कुमार सैंथवार, विरेन्द्र सैंथवार, प्रदिप सुनार गरी ५ जनाको नाममा पास भयो ।

६८ वटा कित्तामा रहेको ३४ विगाहा जग्गा मध्ये १ विगाहा ५ कट्ठा जग्गामा पक्की घरघडेरीहरु समेत बनेको छ भने अरु जग्गा खेत खरिहानको रुपमा प्रयोग हँुदै आएको छ । पीडित किसानहरुको जग्गा फिर्ता ल्याउन स्थानीय समाजसेवी ईन्द्रमणि पाण्डेको नेतृत्वमा टोली, काठमाण्डौ, भारतको दिल्ली पुगेर आवश्यक प्रमाणहरु जुटाई अख्तियार पुग्यो जसले सफलता पायो ।