
बिहिवार , भाद्र ३१, २०७८
बुटवल , ३१ भदौ ।
नेपाली नागरिक भएर पनि नागरिकता प्राप्त नगरेको भन्दै नेपाली नागरिकताविहिन संघर्ष समिति , नवलपरासीले नागरिकता उपलब्ध गराउन माग गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीलाई नागरिकताबाट वञ्चित हुँदाका समस्या सुनाउँदै नागरिकता दिलाइ दिन माग गर्दै ज्ञापनपत्र समेत दिएका छन् ।
नवलपरासी पालिनन्खन गाउँपालिकाकी २२ वर्षिय रिमा कोहारले क्याप्पस तहमा अध्ययन गरिरहेको बताउँदै उच्च शिक्षाका लागि नागरिकता नबन्दा समस्या भएको बताइन् । उनले नागरिकता नहुँदा सरकारी सेवा र रोजगारबाट समेत वञ्चित हुन परेको बताइन् । त्यस्तै सोही गाउँपालिकाका युवा संजिव हरिजनले पनि आफ्ना बाबु र आमासंग नपाली नागरिकता रहेको तर आफूले नागरिकता नपाएको गुनासो गरे । त्यस्तै उनीहरुले नेपाली आमा बुवाका सन्तानले नै नागरिकता प्राप्त गर्न नसकी शिक्षा, स्वास्थ्य, रोजगार र मताधिकार लगायतको अधिकारबाट वञ्चित भइरहेको विषयमा सरकारलाई ध्यानाकर्षण गराएका थिए । उनीहरुले कानून बमोजिम आफूहरु नागरिकता प्राप्तको लागि योग्य रहेको तर पटकपटक यस विषयमा कुरा उठे पनि राज्यको तर्फबाट कुनै वास्ता नभएको बताए ।
मुख्यमन्त्री कुल प्रसाद केसीले भने नागरिकता दिने विषय केन्द्र सरकारको अधिकार क्षेत्र रहेकोले प्रदेश सरकारले नागरिकता समस्या समाधान गर्न केन्द्र सरकारलाई आग्रह गर्ने बताए । प्रदेशका उद्योग , वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले नागरिकता दिलाउनमा आफूले सकारात्मक भूमिका खेल्ने बताए । अब पनि नागरिकता नपाए पीडितहरुसंगै आन्दोलनमा जाने मन्त्री शाहीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij