२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

भैरहवामा विश्व ओजोन तह बचाउ दिवस मनाइयो 

वातावरण संरक्षण गर्नुपर्नेमा जोड 

शुक्रवार , आश्विन १, २०७८

भैरहवा, १ असोज ।
विश्व ओजोन तह बचाउ दिवस भैरहवामा पनि मनाइएको छ । प्रत्येक वर्ष सेप्टेम्बर १६ तारिख यो दिवस मनाइन्छ । खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख भन्ने नाराका साथ यस वर्ष दिवस मनाएको छ ।

विश्व ओजोन तह बचाउ दिवसको अवसर पारेर नेपाल रेफ्रिजेरेशन एण्ड इलेक्ट्रो मेकानिकल एशोसियशन नेपाल बुटवल, रुपन्देहीले भैरहवामा बिहीबार छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्ने सहभागिहरुले पृथ्वीमा कार्बन डाइअक्साइड बढ्दै जाँदा त्यसले तापक्रम पनि बढाउँदै लगेको र यसको प्रभाव मानिसमा मात्रै होइन, पारिस्थितिक प्रणालीमा नै परेको बताए । मानिसहरुको विभिन्न गतिविधि, क्रियाकलापहरुले गर्दा पुथ्वीमा विभिन्न किसिमका समस्याहरु आइपरेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भैरहवा भन्सार कार्यालयका शाखा अधिकृत तारा किरन केसीले वातावरणको संरक्षण गर्नु आजको आवश्यकता भएको बताए । उनले जलवायू परिवर्तनले वातावरणमा असर पुुगेको बताए । केसीले मानिसको गतिविधि नै सन्ततिलाई भविष्यमा असर गर्ने देखिएकाले यसतर्फ सचेत हुनुपर्ने बताए । 

नेपाल रेफ्रिजेरेशन एण्ड इलेक्ट्रो मेकाकिनकल एशोसियशन नेपाल बुटवल, रुपन्देहीका अध्यक्ष गोपाल जैसवालले रेफ्रिजेरेन्ट चेकजाँच गर्ने मेशिन बेलहिया नाकामा नहुँदा चेकजाँचका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको बताए । उनले बेलहिया नाकामै चेकजाँच गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । उनले अवैध रुपमा हुने ग्यासको चोरीपैठारी रोक्नुपर्नेमा जोड दिए ।

लायन्स क्लब अफ होलिसिटी सिद्धार्थगरका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठले प्रत्येक वर्ष पृृथ्वीको तापक्रम बढ्दै गएको बताए । उनले वातावरणलाई प्रदुषित बनाउने कार्यमा लाग्न नहुने बताए । क्लबका वर्ष २०२१/२२ का अध्यक्ष राकेश गुरुङले युनाइटेड इन्भारमेन्ट प्रोग्रामको गाइडलाइन अनुसार संस्थाले कार्यक्रम मनाउनु राम्रो विषय भएको बताए ।

नेपाल रेफ्रिजेरेशन एण्ड इलेक्ट्रो मेकानिकल एशोसियशन रुपन्देहीका संस्थापक अध्यक्ष महेन्द्र अमात्यले फ्रिज किन्दा ओजोनलाई नोक्सान गर्ने ग्यास छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । उनले भावी पुस्तालाई पनि स्वच्छ अक्सिजन दिनुपर्ने गरी वातावरण संरक्षणमा लाग्नुपर्ने बताए ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीका कार्यसमिति सदस्य रबिन्द्र प्रताप गुप्ताले वातावरण संरक्षण गर्ने सम्पूर्ण क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिए । उनले नेपाल रेफ्रिजेरेशन एण्ड इलेक्ट्रो मेकानिकल एशोसियशनले आगामी दिनमा वातावरण संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल रेफ्रिजेरेशन एण्ड इलेक्ट्रो मेकानिकल एशोसियशन रुपन्देही सचिव अशोक डुम्रेको स्वागत तथा गोपाल जैसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_4113.JPG