२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

शर्मालाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार 

सोमवार , आश्विन ११, २०७८

बुटवल, ११ असोज। नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आएको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार–२०७७ बाट बुटवलका पत्रकार टोपराज शर्मा पुरस्कृत भएका छन्।
विश्व वातावरण दिवसमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण ढिला वितरण गरिएको हो। नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकार शर्मालाई सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरेका हुन्। पुरस्कारको राशी नगद २५ हजार रुपैयां रहेको छ।

डेढ दशक भन्दा बढी समयदेखि पत्रकारितामा निरन्तर क्रियाशील शर्मा राज्य टेलिभिजन बुटवलका उपसम्पादक र अनलाइनखबरका वरिष्ठ संवाददाता हुन्। उक्त पुरस्कार वातावरण बचाउ आन्दोलन रुपन्देहीका संस्थापक भैरहवाका अग्रज पत्रकार नारायणप्रसााद सापकोटाले स्थापना गरेका हुन् । प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली संयोजक तथा लेखक युवराज कंडेल र डिभिजन वन कार्यालयका वन अधिकृत राजन खड्का सदस्य रहेको मूल्यांकन समितिले शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा मुख्यमन्त्री केसी, महासंघ अध्यक्ष पोखरेल, महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य, महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष डा.बालकृष्ण चापागाई, पुर्व सभासद् विनोद पहाडी, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, पुरस्कार स्थापनाकर्ता सापकोटा, महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, प्रेस यूनियन रुपन्देहीका सभापति रेखा भुसाल, मूल्यांकन समितिका सदस्य युवराज कंडेल लगायतले बोल्दै वातावरणसंग सम्बन्धित सवाल विश्वव्यापी रुपमा मानव स्वास्थ्य, जलवायू परिवर्तन, प्राकृतिक स्रोत साधनको संरक्षण लगायतका वहुआयामिक विषयसंग जोडिएकाले सञ्चारमाध्यमले यसलाई प्राथमिकता दिनुपर्ने आग्रह गरेका थिए । 

अवसरमा महासंघ रुपन्देहीले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट हालै ‘बुद्ध दर्शन र सञ्चार’ मा विद्यावारिध हासिल गरेका महासंघका पूर्वअध्यक्ष डा.बालकृष्ण चापागाईलाई पनि सम्मान गरिएको महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताए ।