२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

दुबई ट्राञ्जिट भएर कोरिया आएका एक नेपालीमा कोरोना संक्रमण पुष्टि

आइतवार , आश्विन ११, २०७७

(सिओल), ११, असोज ।
दुबई ट्राञ्जिट हुँदै शनिबार कोरिया फर्केका एक नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल विदामा गई कोरिया फर्किन नपाएका मध्ये ६३ जनालाई कोरियाको केएमई ट्राभल कम्पनीले समन्वय गरेर शनिवार कोरिया ल्याएको थियो ।

नेपालमा पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि कोरियाको ईञ्छन विमानस्थलमा आई परिक्षण गराउँदा संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए । शनिवार पुष्टि भएका संक्रमितसंगै कोरियामा कोरोना संक्रमित नेपालीको संख्या ८ पुगेको छ । कोरियामा संक्रमित ८ नेपालीमध्ये ५ जना नेपालबाट यहाँ आएको १४ दिनभित्र संक्रमण पुष्टि हुनेहरु रहेका  छन् ।

उनीहरुले संक्रमण निको नहुँदा सम्म सम्पुर्ण उपचार शुल्क आफैले तिर्नुपर्ने बताइएको छ ।  
कोरिया सरकारले गत महिना ल्याएको नयाँ नियम अनुसार विदेशबाट आउने विदेशीलाई यहाँ आएको १४ दिन भित्र संक्रमण पुष्टि भएको खण्डमा सम्पुर्ण उपचार खर्च विरामी स्वयमले तिनुपर्ने उल्लेख छ ।

केएमईका सञ्चालक विनोद कुंवरले आफुहरुले सम्बन्धित अस्पतालमा पिसिआर गर्न आग्रह गर्दा सिण्डिकेट लादेको आरोप लाग्ने गरेका कारण यात्रुहरुले  आफुखुसी अस्पतालमा पीसीआर परीक्षण गराएका कारण समस्या परेको दाबी गरे ।

शनिवार आउने संक्रमितसंग प्रत्यक्ष सम्पर्कमा रहेका सबै यात्रुलाई थप निगरानीमा राख्न अनुरोध गरिएको कुंवरले बताए ।
कोरियामा नयाँ आउने विदेशी कोरोना संक्रमितले उपचारमा चर्को शुल्क तिर्नुपर्ने भएकाले आगामी दिनमा यहाँ आउने तयारीमा रहेका नेपालीलाई नेपालबाट नै कोरोना बीमा गराई कोरिया ल्याउन पहल थालिएको कुंवरको भनाइ छ ।
दुबई ट्राञ्जिट भएर नै आइतवार थप ३२ जना नेपाली कोरिया आउँदै छन् ।

यस अघि शुक्रवार कोरिया आउने तयारीमा रहेका २ जना नेपालीमा कोरोना संक्रमण देखिएपछि त्रिभुवन विमानस्थलबाट नै फिर्ता गरिएको थियो ।