२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड

आइतवार , आश्विन ११, २०७७

भैरहवा, ११ असोज ।
विश्व पर्यटन दिवस–२०२० को अवसरमा बुद्ध सर्किट डट कमको आयोजनामा आइतबार भैरहवामा महाअभिनिष्कर्मण कार्यक्रमबारे जानकारी तथा कोभिड–१९ पछिको नेपालको पर्यटन विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा बुद्ध सर्किट डटकमका संस्थापक तथा अध्यक्ष एवं महाअभिनिष्कर्मण कार्यक्रमका परिकल्पनाकार विक्रम पाँडेकाजीले बुद्ध जन्मस्थल लुम्बिनीसहित बुद्ध जीवनीमा आधारित कपिलवस्तु, रामग्राम, देवदहसहितको बुद्ध सर्किट भ्रमणमा आउनेहरुका लागी महाअभिनिष्कर्मण कार्यक्रम नयाँ पर्यटन प्याकेजका रुपमा रहेको बताए ।

बुद्धको जीवनमा महानत्यागको महत्वलाई उजागर गर्नु, बौद्ध सर्किटको नयाँ गन्तव्यको प्रचारप्रसार गर्नु, विश्व पर्यटन दिवस मनाउनु र तिलौराकोटको अनुपम महत्व दर्शाउनु वर्तमानमा आवश्यकता रहेको पाँडेकाजीले बताए ।

राजकुमार सिद्धार्थले गृहत्याग गरेको दिनलाई स्मरण गर्दै यो कार्यक्रम बनाइएको हो । बौद्ध ग्रन्थका अनुसार असार पूर्णिमाका दिन (गुरु पूर्णिमा)लाई राजकुमार सिद्धार्थले गृहत्याग गरेको दिनका रुपमा लिईन्छ ।

सोही अनुसार अघिल्लो वर्षबाट यो कार्यक्रम सुरुवात भएता पनि यस वर्ष असार महिनामा २१ गते (जुलाई ५, २०२०) व्यापक रुपमा आयोजना गरी अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने लक्ष्य रहेकोमा कोरोना भाइरस संक्रमणका कारण हुन सकेको थिएन । कार्यक्रममा पर्यटनविद् शरद प्रधानले बुद्ध सर्किटका लागी यो कार्यक्रम नयाँ प्याकेज हुने र यसलाई सरोकारवाला निकायले अपनत्व लिई अघि बढनुपर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले पर्यटन दिवसका अवसरमा आयोजित अन्तरक्रियासंगै नयाँ कार्यक्रमबारे जानकारी निकै उपलब्धिमुलक रहेको बताए । उनले वर्तमान समयमा कोरोनाको कहर अझै बाँकी रहेकोले सरकारले पर्यटन व्यवसायीहरुको वर्तमान समस्या जस्तै बैंक कर्जा, कर लगायतका कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रलाई सरकारले अब चलायमान बनाउनुपर्ने बताए ।

सिद्धार्थ होटल संघ सान नेपालका उपाध्यक्ष किशोर जोशीले अहिले होटल व्यबसाय निकै कठिन अवस्थामा रहेको भन्दै आन्तरिक पर्यटन मात्र नभई अन्तर्राष्ट्रिय पर्यटकहरुलाई पनि भित्र्याउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्श (सोटो) नेपाल प्रदेश ५ का संयोजक एवं पर्यटन व्यबसायी सञ्जय बजिमयले पर्यटन गतिविधिलाई बढावा दिने खालका कार्यक्रम बढी गराउनुपर्ने, स्वास्थ्य मापदन्ड हेरेर अन्तर्राष्ट्रिय सिमा नाका खोलिनुपर्ने, एअर कनेक्टीभिटी जस्तै वाटर कनेक्टीभीटी हुनुपर्ने लगायतका विषयमा राज्यले ध्यान दिनुपर्ने बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले आन्तरिक पर्यटनलाई  बढावा दिनुपर्ने र विदेश भन्दा पनि पहिला नेपालको भ्रमण गर्न सबैमा आग्रह गरे । पर्यटन अभियन्ता चेतन पन्तले बोर्डर टुरीजम फस्टाउने गतिविधि गर्नुपर्नेमा जोड दिए ।

सो क्रममा सोटो प्रदेश ५ का उपाध्यक्ष श्रीचन्द गुप्ता, सिद्धार्थ होटल संघ नेपाल (सान)का महासचिब रबिन्द्र शर्मा घिमिरे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यकारी सचिव आनन्द खनालले पर्यटन क्षेत्रका राम्रा र नराम्रा पक्षका बारेमा चर्चा गरेका थिए । 

न्यूज ओके साप्ताहिकको संयोजन र सिद्धार्थ उद्योग वाणिज्य संघको सहकार्यमा भएको कार्यक्रमको सञ्चालन न्यूज ओके साप्ताहिकका सम्पादक मनोरञ्जन शर्माले गरेका थिए ।