
आइतवार , आश्विन ११, २०७७
गुल्मी । नेपाली कांग्रेस गुल्मीका सचिव एवं युवा नेता खिलध्वज पन्थीले रुखबाट लडेर घाईते भएका व्यक्तिलाई आर्थिक सहयोग गरेर जन्मोत्सव मनाएका छन् । गत साउन १६ गते आँपको रुखबाट लडेर मेरुदण्डमा समस्या भएका रेसुङ्गा नगरपालिका वडा नम्बर ६ अत्तरकाँडाका २२ वर्षीय टामलाल अधिकारीलाई आर्थिक सहयोग गरी पन्थीले जन्मोत्सव मनाएका हुन् ।
कांग्रेस नेता पन्थीले जन्मोत्सवको अवसरमा फजुल खर्च नगरी आर्थिक समस्यामा परेका व्यक्तिलाई सहयोग गरेर सकरात्मक सन्देश प्रवाह गरेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएका अधिकारीको उपचारमा राहत पु¥याउने उद्देश्यसहित नेता पन्थीले जन्मोत्सवको अवसर पारेर अधिकारीलाई शनिबार १० हजार आर्थिक सहयोग गरेका हुन् ।
अधिकारीको मेरुदण्डमा समस्या आएपछि पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचारका लागि लगिएको थियो । मेडिकल कलेजले रेफर गरेपछि काठमाडौं ट्रमा सेन्टरमा उपचार गरेका अधिकारीलाई असोजको चौथो हप्ता पुनःउपचारका लागि काठमाण्डौँ लैजानु पर्ने उनका बुबा खुमानन्द अधिकारीले बताए । परिवारको आर्थिक अवस्था कमजोर भएका अधिकारीले छोराको उपचार गर्दा लाखौँ रुपैँया खर्च भइसकेको बताए । आम्दानीको मुख्य स्रोत कृषिबाट परिवारको जीविका चलाउँदै आएका अधिकारीले छोराको मेरुदण्डको शल्यक्रिया गर्न परे ठूलो रकम लाग्ने भन्दै चिन्ताव्यक्त गरेका छन् ।
अहिले आफ्नो परिवार आर्थिक संकटमा परेको बेला नेता पन्थीले गरेको सहयोग प्रति अधिकारीले धन्यवाद दिदै सहयोगका लागि वडा कार्यालयबाट सिफारिस गराए पनि अहिले सम्म कहिँकतैबाट आबश्यक सहयोग जुट्न नसकेको पिडित परिवारले बताएका छन । बिकास निर्माणका काममा आफ्नो क्षेत्रमा नेकपा नेता गोकर्ण बिष्टलाई टक्कर दिइरहेका नेता पन्थीले बिभिन्न अवसर पारेर बिपन्न जनतालाई मानविय सेवाभावका साथ सहयोग गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij