२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

जनगणनामा सही तथ्यांक महत्वपूर्ण हुनेमा जोड

आइतवार , आश्विन १७, २०७८


बुटवल, १७ असोज ।
 
सरकारले बनाउने सबै किसिमका योजनामा सही र तथ्यपरक जनगणना आवश्यक पर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । केन्द्रीय तथ्यांक विभागको सहकार्यमा मिडिया एक्सन नेपालको आयोजनामा शनिबार रुपन्देहीमा लुम्बिनी प्रदेशका ४ जिल्लाका पत्रकारहरुबीच गरिएको जनगणना सम्बन्धि मिडिया सचेतना कार्यशालामा बोल्ने वक्ताहरुले जनगणनामा सही तथ्यांक महत्वपूर्ण हुनेमा जोड दिएका हुन् । कार्तिक २५ देखि मंसिर ९ गतेसम्म १५ दिन चल्नेछ । कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जनगणना देशको नीति तयार गर्ने महत्वपूर्ण पाटो भएको बताए । प्रत्येक १० वर्षमा देशहरुमा जनगणना लिने गरिने र यसमा तथ्यांक संकलन, प्रलेखिकणका कार्यक्रमहरु सुक्ष्म रुपमा राखिने हुँदा सरकारसंगै तथ्यांकलाई सूचनामार्फत आमनागरिक समक्ष पेश गर्न सकिने उनले बताए । 

तथ्यांक विभागका निर्देशक तथा प्रवक्ता ढुण्डीराज लामिछानेले जनगणनाको तथ्यांक बुझ्न केही कठिनाइ हुने भएकाले पनि छलफल जरुरी रहने बताए । केन्द्रीय तथ्यांक विभागका निर्देशक केशव गौतमले ‘मेरो गणना मेरो सहभागिता’ नारासहित जनगणना २०७८ गरिन लागेको बताए ।  युनएनएफपिएका लुम्बिनी प्रदेशका संयोजक राम थापाले केवल संख्यात्मक तथ्यांक मात्र नभई विश्लेषणात्मक तथ्यांक आउने हुँदा त्यसै अनुरुप सरकारबाट योजना बनाउन सहयोग मिल्ने बताए । 

तिलोत्तमा नगरपालिकाका महिला तथा बालबालिका शाखाका सम्झना भण्डारीले स्थानीय सरकारबाट जनगणनामा सहभागिहरुलाई विशेष सहयोग गर्ने प्रतिवद्धता अनुसार काम गरिदै आएको बताए । कोही नदोहोर्याउन, कोही नछुटुन् भन्ने मुल विषयलाई ध्यानमा लिएर विवरण लिने गरी सहयोग हुने उनले बताइन् । नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले पत्रकारहरु बुझेर रिपोर्टिङ गर्नुपर्ने सुझाव दिए ।

लुम्बिनी प्रदेश जनगणना कार्यालयका कृष्णराज पाण्डेले बसोबासको आधारमा तथ्यांक लिने काम भइरहेको बताए । एकैसमयमा सबै भुभागलाई समेटेर लिइएको तथ्यांक धेरै उपयोगी हुने भन्दै उनले सही तथ्यांक दिनुपर्ने बताए। अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई आधार बनाएर लिइने हँुदा केही कठिनाइ हुने भए पनि यसको दिर्घकालिन प्रभाव पार्ने उनले बताए । 

कुनै पनि देश संचालन गर्न जनगणना महत्वपूर्ण हुन्छ । आर्थिक, सामाजिक सबै तथ्यांक संकलन यसमा हुन्छ । नागरिकहरु सुसुचित गराउने काममा समेत मिडिया भुमिका रहेकाले पनि यसको प्रचारप्रसारमा यो कार्यक्रम राखिएको बताए । अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पा, नवलपरासीबाट २५ जना पत्रकारहरुलाई कार्यशालामा सहभागिता रहेको थियो ।