२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

कृषि अनुसन्धान परिषदमा भैरहवाका भण्डारी नियुक्त

सोमवार , आश्विन १२, २०७७

भैरहवा, १२ असोज । 
विगत तीन वर्षदेखि रिक्त रहेको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा भैरहवाका दीपक भण्डारी नियुक्त भएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सिफारिसमा नेपाल सरकारको मन्त्रीपरिषदको बैठकले भण्डारीलाई नियुक्त गरेको हो । 

सम्पुर्ण अन्नबालीको आधुनिक जातको विकास गर्ने अनुसन्धान केन्द्रको रुपमा रहेको नार्कको कार्यकारी निर्देशकको पद विगत तीन वर्षदेखि रिक्त रहेको थियो ।

भण्डारीलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले निर्देशक पदमा नियुक्त गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लगेका थिए ।

२०४७ सालमा लोकसेवा आयोगमार्फत बाली संरक्षण अधिकृत नियुक्त भएका भण्डारी २०४७ देखि ०५० सम्म जिल्ला कृषि विकास कार्यलय कपिलवस्तु र दाङमा कार्यरत थिए । त्यसै गरी २०५० देखि कृषि अनुसन्धान परिषदमा काम गर्न थालेका उनी २०६० सालमा वरिष्ठ वैज्ञानिक भएका थिए । ०७२ सालमा मुख्य वैज्ञानिकको जिम्मेवारी प्राप्त गरेका उनले २०७६ पुस देखि कामु कार्यकारी निर्देशकको जिम्मेवारी प्राप्त गरेका थिए ।

जागिरको सिलसिलामा २०५२ देखि राष्ट्रिय गहुंबाली अनुसन्धान कार्यक्रम भैरहवामा १७ वर्ष काम गर्ने सिलसिलामा उनले गहुँका रोगहरुको नियन्त्रणमा उत्कृष्ट कार्य गरेवापत बोर्लग ग्लोबल रस्ट इनिसियटिभको अन्तर्राष्ट्रिय बिजिआरआइ जेनि स्टेवार्डसीप अवार्ड समेत प्राप्त गरेका थिए । भण्डारीले अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको हुँदा नार्कबाटै २ लाख राशीको पुरस्कार पनि प्राप्त गरेका छन् । भण्डारीको हालसम्म ७० भन्दा बढी अनुसन्धान कृति पनि प्रकाशित भएका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका भण्डारीले भैरहवा माध्यमिक विद्यालयबाट २०३६ सालमा एसएलसी र पक्लिहवा क्याम्पसबाट आइए पास गरेका थिए । उनले स्नाकोत्तर र विद्यावारिधी पूर्ण छात्रवृत्तिमा एशियन इन्ष्टिच्यूट अफ टेक्नोलोली थाइल्याण्डबाट गरेका हुन् ।

भण्डारीको नार्कमा नियुक्तिसंगै २०५४ साल यताका कर्मचारी हकहितको क्षेत्रमासंगै काम गरेका शोभाकान्त नेपालले कृषि अनुसन्धान परिषदको नेतृत्वमा राम्रो मान्छे पुगेको बताए । शोभाकान्त तत्कालिन समयमा कर्मचारी संगठनको अध्यक्ष थिए भने भण्डारी सचिव रहेका थिए ।