
सोमवार , आश्विन १८, २०७८
भैरहवा, १८ असोज ।
मायादेवी च्यारिटेबल फाउण्डेशन सिद्धार्थनगर, रुपन्देहीले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने तथा फाउण्डेशनलाई उचाईमा पुर्याउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ–संस्थालाई सम्मान गर्ने भएको छ । फाउण्डेशनले सफाईकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थालाई प्रदेशस्तरीय ‘कोभिड–१९ वारियर अवार्ड’ बाट सम्मान गर्ने जनाएको छ ।
फाउण्डेशनले सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २३ गते शनिबार ‘कोभिड–१९ वारियर अवार्ड’ बाट विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्ने जनाएको छ । फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले असोज २३ गते भैरहवास्थित पटवा बैंकेटमा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुने बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी.को प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा प्रदेशका १२ वटै
जिल्लाबाट प्रतिनिधित्व हुने गरी सम्मान गरिने रौनियारले जानकारी दिए ।‘कोभिड–१९ को महामारीमा मानव सेवाको रक्षाका लागि खट्ने विभिन्न व्यक्तित्वलाई सम्मान गर्दैछौं, लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाबाट कम्तीमा एक जना र बढीमा तीन जनालाई उक्त अवार्ड प्रदान गरिनेछ, करिब २० जनालाई सम्मान गर्छौं, ’उनले भने ।
त्यस्तै कार्यक्रममा पत्रकार स्व. विन्दु कुमार चौहानको परिवारसहित अन्य केही विपन्न परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिने उनले बताए । २५ रुपैयाँमा शाकाहारी खाना खुवाउने अन्नपूर्ण भोजनालय कार्यक्रमको सुरुवात गरी स्थापना भएको मायादेवी च्यारिटेबल फाउण्डेशनले हालसम्म १ लाख ९४ हजार जनालाई खाना खुवाइसकेको रौनियारले जानकारी दिए । कोरोना महामारीका कारण केही समय अन्नपूर्ण भोजनालयको कार्यक्रम रोकिए पनि अनौपचारिक रुपमा भने सञ्चालन भइरहेको उनले बताए ।
‘कोरोना महामारीमा भिडभाड हुन नदिन केही समयका लागि यो कार्यक्रम स्थगित गरेका हौं, तर आवश्यकता अनुसार निःशुल्क खाना विभिन्न स्थानमा खुवाउँदै आएका छौं, ’अब दशैपछि पुनः अभियान सञ्चालन हुँदैछ, रौनियारले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij