
मंगलवार , आश्विन १३, २०७७
भैरहवा, १३ असोज ।
आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ सिद्धार्थनगर युथले मंगलबार बालगृहलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । क्लबले मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु का स्ट्रेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले स्थापना दिवसको अवसरमा लायन्स क्लब अफ सिद्धार्थनगर युथले पुनित कार्य गरेको बताए । उनले सकारात्मक सोचका साथ सामाजिक कार्य गरेको भन्दै क्लबको प्रशंसा गरे ।
त्यस्तै सिद्धार्थ बालगृहकी सञ्चालक कृष्णमाया गुरुङले बालगृहको लागि जग्गा र भवनको आवश्यकता रहेकोले र त्यसको लागि लायन्स क्लबलाई पहल गर्न आग्रह गरिन् ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथका निवर्तमान अध्यक्ष अभिनव मयुर कसौधनले ‘हामी सेवा गर्छौं’ भन्ने मान्यताका साथ क्लब अगाडी बढेको बताए । क्लबका पूर्व अध्यक्ष विनय कसौधन, लायन्स क्लब अफ भैरहवा युथका संस्थापक अध्यक्ष विवेक जैसवाल लगायतले बोल्दै आगामी दिनमा पनि क्लबले यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
क्लबका कार्यवाहक अध्यक्ष प्रशान्तमणि रामदामको अध्यक्षता, द्वितीय उपाध्यक्ष अनित गुप्ताको ध्वजा अभिवादन, कार्यक्रम संयोजक सुवास लुइटेलको स्वागत तथा सचिव सन्दिपनाथ गोंगलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij