
मंगलवार , आश्विन १३, २०७७
बाढीबाट क्षति भएको क्षेत्रमा पुग्यो राहत सामाग्री
भैरहवा । अबिरल वर्षाका कारण डुबानमा परेको रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका बाढी पीडितहरुलाई राहत सामग्री प्रदान गरिएको छ ।
युनिसेफ, जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देही, नेपाल रेडक्रस सोसाइटी रुपन्देही र नमुना एकीकृत विकास परिषद रुपन्देहीको संयुक्त आयोजना तथा जिल्ला प्रशासन कार्यालय, रुपन्देही र स्थानीय तहको सहकार्यमा सो क्षेत्रका ४४ जना बाढीपीडितहरुलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा त्रिपाल लगायत फुलप्याकेज राहत सामग्री र १९ जनालाई हाफप्याकेज राहत सामाग्री वितरण गरिएको नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानू पौड्यालले बताइन् । त्यस्तै नमुनाले बाढीपूर्व तयारीका लागि सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ र लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भर्थापुरलाई साइरन उपलब्ध गरेको पौड्यालले बताइन् ।
राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले थप सहयोग लिन प्राकृतिक प्रकोप बाढीग्रस्त क्षेत्र मर्चवारका बाढीपीडितहरु घटना स्थल प्रहरी मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस र भौतिक तथा कृषिबालीको क्षति विवरणसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने जानकारी गराए ।
उनले मर्चवारबासी वर्षेनी डुबानमा परिरहेको कारण बाढी प्रभावित क्षेत्र मर्चवारको दीर्घकालीन विपद् व्यवस्थापन योजना निर्माणको आवश्यकता रहेको औल्र्याए।
कार्यक्रममा सम्मरीमाई गाँउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु ) ले दानव नदी तटमा आठ किलो मिटर लामो पक्की बाँध बनाए दर्जनौ गाउँलाई डुबानबाट बचाउन सकिने भएकोले त्यसका लागि पहल गरिदिन सरोकारवालासंग माग गरे ।
सो अवसरमा नेपाल रेडक्रस रुपन्देहीका सभापति प्रेमलाल यदास, प्रकोप व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथ कुर्मी, र ग्रिन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मी लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij