
आइतवार , आश्विन २४, २०७८
बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा तीन जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका सर्वसाधारणहरुमध्ये तीन जनाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी सुनिल गुरुङ्गले जानकारी दिएका छन् ।
जग्गा कब्जा गरी बसेका र प्रहरीहरुबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गुमेको हो औद्योगिक करिडोर क्षेत्रमा बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा ५० भन्दा बढि घाईते भएका छन । झडपमा करिब ३ दर्जन हवाई फायर भएको एक प्रत्यक्षदर्शीले बताएका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले दिएका जानकारी अनुसार २५ जना प्रहरी घाइते भएको जानकारी दिए । उनले घाइतेहरुको पुरा विवरण अझै संकलन गर्न बाँकी रहेकाले घाइतेहरुको संख्या अझै बढ्न सक्ने जानकारी दिए । भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको थियो । अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो ।
।
घाईतेहरुको अहिले जिल्लाका विभिन्न अस्पतालमा उपचार भईरहेको छ । सुरक्षाकर्मीले आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो । सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि बाक्लो उपस्थिति छ ।
यस्तै रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा उत्पन्न स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । आज (आइतबार) ४ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij