२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रदेश सरकार देखिने र भेटिने अवस्थामा आइपुग्यो : मुख्यमन्त्री पोखरेल

बुधवार , आश्विन १४, २०७७

भैरहवा, १४ असोज ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसंग भर्चुवल बैठक गरेका छन् । प्रदेश सरकारको योजना, कार्यक्रम र प्राथमिकतामा विकास साझेदारहरुसंगको सहकार्य बढाउने उद्देश्यले आयोजित भर्चुवल बैठकमा विभिन्न १२ साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

बैठकमा मुख्यमन्त्रीले प्रदेशको आवधिक योजना कार्यान्वयनको पहिलो वर्ष सकारात्मक रहेको र कोभिड–१९ ले श्रृजना गरेको अप्ठारो अवस्थामा पनि गत वर्ष प्रदेशले ७९ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको बताए । प्रदेशको आवधिक योजना अनुसार विकासलाई गति दिदै आर्थिक वृद्धिदर ९ दशमलव ५ पु¥याउने कार्य चुनौतीपूर्ण रहेको बताउँदै त्यो कार्य पूरा गर्न र  विकासलाई गति दिन विकास साझेदार संस्थाको भूमिका बढ्ने उनले विश्वास व्यक्त गरे ।

उनले स्थापनाको छोटो समयमा प्रदेश सरकार देखिने र भेटिने अवस्थामा आइपुगेको बताउँदै सामाजिक सुरक्षा, विपद व्यवस्थापन, पूर्वाधार निर्माण, नागरिकको घरदैलोमा खानेपानीको पहुँच बढाउन, स्वास्थ्य सेवा विस्तार, कृषिको व्यवसायीकरण र पर्यटन पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता रहेको बताए ।

बैठकमा प्रदेश योजना आयोगका सदस्य विष्णु गौतमले प्रदेश सरकारको योजना, कार्यक्रम, सम्भावना र अवसरका बारेमा प्रस्तुती गरेका थिए ।

बैठकमा सहभागी विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विकासमा प्रदेश सरकारको स्पष्ट दृष्टिकोण र योजना रहेको पाएको बताउँदै योजनालाई कार्यान्वयन गर्न उपलब्धीमुलक साझेदारी गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हडाडजरभस, आइएलओका निर्देशक रिचार्ड हवार्ड, डब्ल्युएचओका नेपाल प्रतिनिधि डा. जोएस भेण्डलर, नेपालका लागि स्वीजरल्याण्डका महामहिम राजदूत एलिजाबेथ क्यापलर, डिएफआइडीका नियोग प्रमुख लिसा होनान, एडिबीका प्रमुख अर्थशास्त्री शरद भण्डारी, युएनडिपीकि आवासिय प्रतिनिधि आएशानीई लबे लगायत सहभागी थिए ।

बैठकमा प्रदेश सरकारका प्रमुख सचिव तोयानारायण ज्ञवाली, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, योजना आयोगका सदस्यहरु र प्रदेश सरकारका मन्त्रालयका सचिवहरु सहभागी रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।