२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कोरोना महामारीको रोकथाममा सक्रियतापूर्वक लाग्न निर्देशन

बुधवार , आश्विन १४, २०७७

भैरहवा, १४ असोज । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धार्थनगर कमिटी सचिवालयको विस्तारित बैठक बुधबार भैरहवामा सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा पूर्व भुमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । यही असोज १७ गतेसम्म साविक पार्टी सदस्यताको अभिलेख जिल्ला पार्टी कार्यालयमा र कार्तिक मसान्तसम्ममा संगठित सदस्यता नविकरण सम्पन्न गरी नगर कार्यालयमा पठाउन शाखा कमिटीलाई बैठकले निर्देशन दिएको छ । 

त्यस्तै यही असोज २० गतेसम्म सबै शाखा कमिटीका बैठक सम्पन्न गर्नको लागि बैठकले  कार्यविभाजन समेत गरेको छ । बैठकले कोभिड–१९ महामारीको रोकथाम तथा व्यवस्थापनमा खट्ने सम्पूर्ण पाटी कमिटी र जनप्रतिनिधिलाई धन्यवाद समेत दिएको छ ।

त्यस्तै बैठकले कोरोना भाइरस महामारीको रोकथाम र व्यवस्थापनमा सक्रियतापूर्वक लाग्न स्थानीय सरकार र पार्टी पंक्तिलाई निर्देशन दिएको छ । त्यसै गरी छिट्टै स्थानीय सरकार सञ्चालन सम्बन्धि संयन्त्रको बैठक बसी कामको समिक्षा गर्ने तथा पार्टी र स्थानीय सरकारबीच समन्वय गरी अगाडी बढ्ने नेकपा सिद्धार्थनगर कमिटीका अध्यक्ष चोपलाल आचार्यले जानकारी दिए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य हकिकुल्ला खाँ, रुपन्देही जिल्ला सचिव निर्मल जि.सी., जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ संयोजक हितराज पन्थी, सचिव प्रेम गुरुङ, सिद्धार्थनगर इञ्चार्ज तिर बहादुर रोकाय (डार्बिन)ले बोल्दै पार्टीको प्रदेश तथा जिल्ला कमिटीका बैठकले गरेको निर्णयहरु, नगर कमिटीले खेल्नुपर्ने भुमिकाको बारेमा निर्देशनात्मक प्रशिक्षण मन्तव्य राखेका थिए । नगर कमिटीका अध्यक्ष चोपलाल आचार्यको अध्यक्षता तथा सचिव जीवलाल अर्यालको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।