२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

ठुलो डुङ्गा संचालनमा आएपछि सुस्तावासी हर्षित 

बिहिवार , आश्विन १५, २०७७


परासी, १५ असोज ।  
गण्डक नदीमा मोटरजडित ठुलो डुङ्गा सञ्चालनमा आएपछि सुस्तावासी हर्षित भएका छन् । १६० क्वीन्टल भार बोक्न सक्ने ठुलो डुङ्गामा नदीमा सञ्चालनमा आएपछि सुस्तावासी खुशी भएका हुन् । यो डुङ्गा स्यानो डुङ्गा भन्दा कम जोखिम र बढी भार बोक्ने सक्ने क्षमतावान रहेको छ । यस डुङ्गामा पन्खी सहित दुई सिलिण्डरको टेक्टरको इञ्जिन जोडिएको छ जसले पानीमा रहेको पन्खी चलाउने मोटरको काम गर्ने छ । उक्त इञ्जिन डिजलबाट चल्ने र अब यस डुङ्गालाई हातबाट खियाउन नपर्ने भएको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवाल बताउँछन् ।

पटक–पटक स्यानो डुङ्गा नदीमा पल्टिएर धनजनको क्षति हुने गरेको र सुस्ता वारीपारी आवतजावतमा बढी समय लाग्ने गर्दथ्यो तर यस ठुलो डुङ्गामा धेरै सर–सामान पनि राख्न मिल्ने र बाढीमा पनि सहजै यात्रा गर्न सक्ने प्रवक्ता जयसवालले बताए । उनका अनुसार बाढीमा पनि यस डुङ्गाबाट यात्रा गर्दा कम जोखिम रहेको र अहिलेको समयमा वारीबाट सुस्तापारी पुग्न जम्मा १० मिनेट र फर्किन २० देखि २५ मिनेट मात्र लाग्ने गरेको बताउँछन् । यो डुङ्गा काठबाट बनाइएको र नेपाली झण्डा राखिएको छ ।

सानो डुङ्गा बाढीमा चलाउनै नमिल्ने पानी सामान्य अवस्थामा रहँदा डुङ्गा हातले खियाउने हुँदा सुस्ता पुग्न ३० मिनेट आउँदा करिब १ घण्टाको समय लाग्ने गर्दथ्यो र यात्रा जोखिम पुर्ण पनि थियो तर सुस्ताबासी फिरोज आलम र जयनारायण शाहले सुस्ताबासीको समस्यालाई ध्यानमा राखी पन्खी मोटर इञ्जिनजडित ठुलो डुङ्गा बनाएर सञ्चालनमा ल्याएपछि सुस्तावासीमा खुशियाली छाएको हो ।

वर्षौदेखि समस्या झेल्दै आएका सुस्तावासीको समस्या सामाधानका लागि नदीमा झोलुंगे पुलको योजना हाले पनि पुल अझै सम्पन्न भइसकेकाले आफनो दैनिकी सहज बनाउन विकल्पको रुपमा उक्त मोटर इञ्जिनबाट चल्ने डुंगा तयार गरेका हुन् ।
नदीमा पुल छैन जोखिमपुर्ण सानो डुङ्गा यात्रा गर्दै आएका सुस्तावासीहरु बाढीको बेला आवागमन नै ठप्प हुन्थ्यो तर यस ठुलो मेसिनसहितको डुङ्गाले सुस्तावासीको हौसला बढाएको सुस्ताबासी बताउँछन् । ५० देखि ६० क्वीन्टल मात्र भार बाक्ने सक्ने सानो डुङ्गाको यो एउटा विकल्प हो । यस्तै खालको अरु डुङ्गा पनि निर्माण गर्ने सुस्तावासीको भनाइ छ ।