
बिहिवार , आश्विन १५, २०७७
भैरहवा, १५ असोज ।
दलित अधिकार मंच सिद्धार्थनगर, रुपन्देहीले हालैमात्र बझाङ जिल्लामा १२ वर्षिय बालिकाको जबर्जस्तीकरणी गरी हत्या गर्ने दोषीमाथि कारवाही गर्न माग गरेको छ । मंचले घटनाको निष्पक्ष छानबीन गरी दोषीहरुमाथि कारवाही गर्न माग गरेको हो ।
मंचले बिहीबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो घटनाक्रमले लाखौं दलितहरुले असुरक्षित महसुस गरिरहेकोले सुरक्षाको प्रत्याभुति दिलाउन माग गरेको छ ।
त्यस्तै रौतहट इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी हिरासतमा प्रहरी कर्मचारीहरुले चरम यातना दिइ हत्या गरेको विजय रामको घटनाको दोषीलाई कारवाही गर्न निर्देशन दिने तथा अन्य घटनाहको जाहेरी दर्ता गरी कानून बमाजिम कारवाही गर्न गराउन निर्देशन दिन प्रधानमन्त्रीलाई ज्ञापनपत्रमार्फत आग्रह गरिएको दलित अधिकार मंचका केन्द्रीय कार्यालय सिद्धार्थनगरका कार्यवाहक अध्यक्ष धु्रव लामगादेले बताए । अधिकाशं घटनामा हालसम्म पनि प्रहरीले जाहेरी दर्ता गरेको छैन, केही घटनामा महिनौ दिनसम्म आन्दोलन गरेपछि जाहेरी दर्ता भए पनि आरोपितहरुलाई हालसम्म पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढेको छैन, उनले भने ।
त्यसै गरी सम्पूर्ण पीडित परिवारलाई कानून बमोजिम उचित राहतको व्यवस्था तथा दलित बस्ती रहेको ठाउँहरुमा दैनिक स्थानीय प्रहरी टोली खटाई सुरक्षा दिन दिलाउनको लागि गृह मन्त्रालयलाई आवश्यक निर्देशन दिन समेत मंचको माग छ ।
ज्ञापनपत्र बुझाउन नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रेम कुमार सेञ्चुरी, दलित संघ रुपन्देही जिल्ला उपाध्यक्ष गोपाल विश्वकर्मा, दलित अधिकारकर्मी किस्मत विश्वकर्मा, सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष प्रकाशमणि रामदाम, सिद्धार्थनगर नगरकार्यपालिका सदस्य गुमानसिंह वि.के., दलित अधिकारकर्मी गणेश वि.क., किरण लामगादे, प्रेम विके खाती लगायत प्रशासन कार्यालय पुगेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij