२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

मोतीपुर घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति दिन माग

शुक्रवार , कार्तिक ५, २०७८

भैरहवा, ५ कात्तिक ।
मोतीपुर औद्योगिक कोरिडोरमा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरिएको छ । तराई–मधेश जनता पार्टी (टाईगर्स)ले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी घटनाको निष्पक्ष छानबीन गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सचिव मेजर पाण्डेले मोतिपुरमा चार जना नागरिकको ज्यान गएकोले मृतक परिवारलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे । उनले घटनाबारे निष्पक्ष छानबीन गर्नुपर्ने र भूमिहिनलाई जग्गा उपलब्ध गराउनुपर्ने माग गरे । पार्टीले उठाएको माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने पाण्डेले बताए ।

‘तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यास गर्दा पनि तनावपूर्ण स्थिति उत्पन्न हुँदा गोली चलेन, तर अहिले किन गोली चलाउनुपर्यो, उनले प्रश्न गरे । वर्तमान सरकारले भूमिसम्बन्धि समस्या समाधान आयोग खारेज गरेको र भूमिहिन नागरिक जग्गा पाउनबाट वञ्चित भएको उनले बताए ।

घटनामा ज्यान गुमाएका रमेश परियारका भाइ विष्णु परियारले पाँच लाख मात्र दिएर नपुग्ने भन्दै घटनाबारे निष्पक्ष छानबीन र मृतकका छोराछोरीको पालनपोषण, शिक्षा तथा परिवारका सदस्यलाई रोजगारीको व्यवस्था हुनुपर्ने बताए । उनले घटनामा निर्दोष नागरिकले ज्यान गुमाउनुपरेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै पुजारी समेत रहेका कोटिहवाका ध्रुव शर्माले भूमिहिन नागरिकलाई सरकारले जग्गाको व्यवस्थापन गर्नुपर्ने बताए । ‘सञ्चालनमा रहेको मुलुकका कतिपय उद्योग बन्द अवस्थामा छन्, ती उद्योग सञ्चालनमा सरकारको ध्यान गएको छैन्, यहाँ त उद्योग स्थापना गर्न भन्दै नागरिकको ज्यान गएको छ, ’उनले भने ।