images

शनिवार, बैशाख २२ गते २०८१

रोहिणीमा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन

रोहिणीमा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन

images
images
images
मंगलवार, कार्तिक ९ २०७८
मंगलवार, कार्तिक ९ २०७८
  • रोहिणीमा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन

    भैरहवा, ९ कात्तिक । नागरिकको स्वास्थ्य बीमामा सहजीकरण गर्ने उद्देश्यसहित रुपन्देहीको रोहिणी गाउँपालिकामा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन भएको छ । स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति सञ्चालन कार्यविधि २०७८ लागू भए पछि देशमै पहिलो समिति गठन गरिएको गाउँपालिकाको दावी छ ।

    images
    images
    images

    स्थानीय तहमा स्वास्थ्य बीमा सम्बन्धि कार्यक्रम कार्यान्वयन गर्न सहजीकरण गर्ने लगायतको कार्य गर्नको लागि समिति गठन गरिएको हो । कार्यविधिमा व्यवस्था भए अनुसार रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

    समितिको सदस्यहरुमा वडा अध्यक्षहरुको तर्फबाट बिर बहादुर थापा, महिला स्वास्थ्य स्वयंसेविकाहरुको तर्फबाट पद्मा थापा, सेवा प्रदायक संस्थाका तर्फबाट चन्द्रिका यादव, गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास चौधरी र राम प्रसाद ढकाल रहेका छन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत न्यौपाने सदस्य सचिवको जिम्मेवारीमा रहनेछन् ।

    गाउँपालिकामा रहेका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैको लागी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जनाए । यसले रोहिणी गाउँपालिकाका जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दिर्घकालीन लक्ष्य राखिएको उनले बताए । यादवले गाउँपालिकामा विभिन्न चेतनामूलक कार्यक्रममार्फत समूदायका समूहहरुलाई सक्रिय सहभागि गराउने जनाए । “गरीब तथा न्यून आय भएका वर्गलाई विशेष संरक्षण गर्दै सार्वजनिक तथा निजी स्वास्थ्य स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको सहकार्यमा स्वास्थ्य बीमाको नितिलाई विस्तार गर्ने योजना रहेको छ ।” यादवले भने

    रोहिणी गाउँपालिकामा रहेका ५ जना सम्म सदस्य रहेको परिवारमा ३ हजार ५ सयको दरले परिवारकै वर्षभरीको स्वास्थ्य बीमा गराउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । ५ जना भन्दा बढी सदस्य रहेको परिवारमा प्रतिसदस्य बराबर थप ७ सय रुपैया तिर्नुपर्नेछ । स्वास्थ्य बीमाले ५ जनासम्म सदस्य रहेको परिवारलाई १ लाख बराबरको औषधीय सेवा पाउने र ५ जना माथिका सदस्यको हकमा प्रतिसदस्य थप २० हजार बराबरको अधिकतम २ लाखसम्मको सेवा प्राप्त हुने उनले जानकारी दिए ।

    उनले गाउँपालिकामा रहेका ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिक, एवं क वर्गको परिचयपत्र प्राप्त अपांगता भएका व्यक्तिहरुलाई निशुल्क बीमा गरिने बताए । यस्तै महिला स्वास्थ्य स्वयंसेविकाहरुको हकमा ५० प्रतिशत सरकारले र बाँकी ५० प्रतिशत गाउँपालिकाले तिर्ने गरी निःशुल्क बीमा गरिने न्यौपानेले जानकारी दिए ।

    स्वास्थ्य सेवा उपयोगमा आउन सक्ने आर्थिक अवरोध हटाएर स्वास्थ्य सेवामा मूलतः गरीब तथा सीमान्तकृत जनता र लक्षित वर्गको पहुँच र समता अभिवृद्धि गर्न गाउँपालिकाले पहल थालेको उनले बताए । स्वास्थ्य बीमाले स्वास्थ्य सेवा उपयोगका क्रममा अनियोजित रुपमा भई रहेको व्यक्तिगत खर्चलाई वयवस्थित गर्ने र अप्रत्यासित स्वास्थ्य हानीको कारणले हुने आर्थिक जोखिमबाट समेत बचाउन सहयोग गर्ने न्यौपानेको भनाई छ ।

    न्यौपानेले अहिले स्वास्थ्य बीमा दर्ता सुरु भइसकेको जनाए । उनले वैशाख, जेठ र असार महिनामा गराएको स्वास्थ्य बीमाको सेवा भदौ १ गते बाट सुरु हुने र अर्को वर्षको साउन मसान्तसम्म यसको म्याद रहने जनाए । यस्तै साउन, भदौ र असोज महिनामा गरिएको बीमाको अवधि मंसिर १ गतेबाट सुरु भई अर्को वर्षको कार्तिक मसान्तसम्म रहनेछ । कार्तिक, मंसिर र पुसमा गरिएको बीमा फागुनको १ गतेबाट सुरु भई अर्को बर्षको माघ मसान्त रहनेछ । माघ, फागुन र चैतमा गरिएको बीमा अर्को बर्षको जेठ १ गते मात्र सुरु हुने र सोही वर्षको बैशाख मसान्तसम्म मात्र रहनेछ ।

    स्वास्थ्य बीमाले अप्रत्यासित स्वास्थ्य हानीको कारणले हुने आर्थिक जोखिमबाट बचाउने भएकोले गाउँपालिकाले सबै नागरिकलाई यो अभियानमा सहभागि हुन अपिल समेत गरेको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij