२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

एलआइसी नेपाल बुटवलले प्रदान गर्‍यो ४१ लाख ५४ हजार बीमा दाबी भुक्तानी

शनिवार , आश्विन १७, २०७७

तिलोत्तमा, १७ असोज । (गौबुस)
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल बुटवल शाखाले कोरोना कहरकाबीच पनि जीवन बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरस्थित सीता राइसमिल नजीकै यही भदौ १० गते स्कुटी दुर्घटनामा ज्यान गुमाएका शंकर कार्कीको परिवारलाई बीमा दावी हस्तान्तरण गरिएको हो । 

शनिबार एक कार्यक्रमका बीच एलआइसी नेपालका बुटवल शाखा प्रबन्धक सूर्य बहादुर जिसी, एजेन्सी म्यानेजर यम बहादुर राना र उनका अभिकर्ता केशव कुमार श्रेष्ठले बीमा दावीबापत ४१ लाख ५४ हजार रुपैयाँको चेक कार्कीकी पत्नी कृष्णकला कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

मृतक कार्कीले २० लाख रुपैयाँको जीवन तरंग बीमा गरी पहिलो किस्तावापत एकलाख एकहजार रुपैयाँ बुझाएका थिए । रकम हस्तान्तरण गर्दै एलआइसी नेपालका बुटवल शाखा प्रमुख सूर्य बहादुर जिसीले कोरोना कहरको यस्तो अवस्थामा पनि आफुहरुले बीमा दावी गरेको एक सातामै रकम हस्तान्तरण गरेको बताए । आफुहरुले प्रदान गरेको उक्त रकम मृतकको परिवारको घाउमा मलमको काम गर्ने उनले बताएका थिए । 

एजेन्सी म्यानेजर यम बहादुर रानामगरले आवश्यक कागजात पूरा गरेको एक हप्ताभित्र एलआइसी नेपाल लि.ले सहज ढंगले मृत्यु दावी रकम हस्तान्तरण गरेकोमा कम्पनीको विश्वसनीयताबारे आफ्नो धारणा राखेका थिए । स्वर्गीय कार्कीले एजेन्सी म्यानेजर यमबहादुरका अभिकर्ता केशव कुमार श्रेष्ठमार्फत जीवन बीमा गरेका थिए ।

उनको बुटवलबाट शंकरनगरतर्फ आउने क्रममा लु २६ प १४५५ नम्बरको स्कुटर दुर्घटना हुँदा गम्भिर घाइते भएका थिए । उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बीमा रकम बुझेपछि कार्कीकी पत्नी कृष्णकलाले संकटको बेला बीमा बापत पाएको रकमले ठूलो राहत पुगेको बताइन् ।