२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

‘महिनावारीमा हुने विभेदले महिला हिंसा बढ्यो’

आइतवार , कार्तिक २८, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल, २८ कात्तिक ।
    महिनावारीमा हुने विभेदले सिक्ने र पढ्ने अवसर खोसिएको किशोरीहरुले गुनासो गरेका छन् । यस्तो हुन नदिन महिनावारीमा हुने छुवाछुत र भेदभाव रोक्न एवं मर्यादित महिनावारीमा जोड दिन उनीहरुको आग्रह छ । 

    किशोरी अधिकार मन्च र महिला मानवअधिकार रक्षक रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको अन्तरपुस्ता संवाद कार्यक्रमका सहभागीले अझै पनि महिनावारीको समयमा विद्यालय जान नपाउने, विद्यालय जान पाए महिलामैत्री शौचालय नहँुदा समस्या हुने कारणले पढाइ छुट्ने गरेको उनीहरुले गुनासो गरे । 

    कार्यक्रममा बोल्दै अधिकारकर्मी राधा पौडेलले महिनावारीका कारण मानव जातिको सृष्टि हुने भए पनि महिनावारीलाई अशुभ मान्ने परम्परा अझै कायम रहेको बताइन् । यही कारण किशोरीहरुको विकासदेखि महिलाहरुको गतिशिलता रोकिएको उनले बताइन् । ‘महिनावारी अशुभ हो । पाप हो भन्ने धारणा हटाउनुपर्छ । महिनावारीलाई किशोरीहरुले निर्धक्क भन्न सक्ने वातावरण बनाउनपर्छ ।’ उनले भनिन् । महिनावारीमा हुने विभेदले किशोरी एवं महिला हिंसा बढाएको र उनीहरुको सुरक्षा चुनौति बढिरहेको भन्दै महिनावारीलाई गर्व र मर्यादाको विषय बनाउन आग्रह गरिन् । यसका लागि विद्यालयहरुले मर्यादित महिनावारी मैत्री विद्यालय र स्थानीय तहहरुले टोल, वडा हुँदै स्थानीय तहलाई मर्यादित महिनावारीयुक्त बनाउन काम थाल्न उनले सुझाव दिइन् । 

    कार्यक्रममा बोल्दै नमना एकीकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौड्यालले महिनावारीलाई लाज र सरमको विषय नबनाउन आग्रह गरिन् । महिनावारीका बेलामा आवश्यक सरसफाइ र खानपानमा ध्यान दिदै आफ्ना काम नरोक्न अभिभावक र विद्यालयंग समन्वय गर्न उनले आग्रह गरिन् । 

    कार्यक्रममा मानवअधिकार रक्षक संजालकी अध्यक्ष हेमा न्यौपाने, पत्रकार अमृता अनमोल, इन्दिरा अर्याल, इन्दिरा आचार्य लगायतले किशोरीहरुलाई सुझाव दिएका थिए ।