
सोमवार , आश्विन १९, २०७७
नवलपरासी १९ असोज । प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा नेपाल तरुण दल पश्चिम नवलपरासीले सोमवार बिहान १० बजे देखि ११ बजेसम्म एक घण्टा महेन्द्र राजमार्गमा चक्काजाम गरेको छ ।
नेपाली काङ्ग्रेसका सभापति तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीको बुटवललाई अस्थायी प्रदेश राजधानी बनाउन गरेको निर्णयलाई वर्तमान सरकारले रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै मुख्य राजमार्गमा पर्ने नवलपरासीको सुनवल १२ भुमहीमा चक्काजाम गरिएको हो ।
बिरोधमा सहभागीले 'मुख्यमन्त्री राजिनामा दे' , 'भ्रष्टाचारी सरकार मुर्दावाद', 'राजधानी फेर्न पाइदैन, यस्तो सरकार चाहिदैन', 'राष्ट्रिय एकता कायम गर' लगायतका नारा लगाएका थिए । तरुण दलले गरेको बिरोध कार्यक्रमलाई नेपाली काङ्ग्रेस र नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले समेत पूर्ण साथ र समर्थन गरेका थिए । सहभागीले टायर बालेर आन्दोलनलाई थप चर्काउन खोजेपछि प्रहरीले अबरोध गर्न खोज्दा केहिबेर स्थिती उग्र बनेको थियो । एक घण्टा राजमार्ग चक्काजाम र आन्दोलन गरेसङ्गै कोणसभामा परिणत भएको आन्दोलनलाई नेपाली काङ्ग्रेसका पूर्व सांसद तथा जिल्ला नेताहरूले सम्वोधन गरेका थिए ।
कोणसभालाई सम्वोधन गर्दै काङ्ग्रेसका नेता तथा संविधानसभा सदस्य बिक्रम खनालले व्यापारिक केन्द्र र बहुसंख्यक जिल्ला रुपन्देही रहेकाले सोही ठाउँमा नै प्रदेश राजधानी हुनुपर्नेमा जोड दिए । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले बुटवललाई प्रदेश राजधानी बनाउने भन्दै मुख्य चुनावी एजेन्डा बनाएको तर दुई तिहाई सरकारको दम्भले जनताको अभिमतलाई नै धोका दिएको उनले टिप्पणी गरे । उनले कुनै हालतमा रुपन्देही बाहेक अन्यत्र राजधानी हुन नदिन पार्टीले जस्तोसुकै आन्दोलन गर्न पनि पछि नहट्ने चेतावनी दिए ।
यसैगरी अर्का काङ्ग्रेसका नेता तथा संविधानसभा सदस्य देवकरण कलवारले प्रदेश राजधानी रुपन्देहीमा भएन भने देशमा आगो लाग्ने चेतावनी दिए । त्यस्तै काङ्ग्रेस नवलपरासीका जिल्ला सभापति बिष्णु प्रसाद पौडेलले बुटवललाई अस्थायी राजधानी तोकिएसङ्गै भौतिक संरचना निर्माणमा जनताले कर तिरेको राज्यकोषको अरबौं रकम नेकपा सरकारले हिनामिना गर्न खोजेको आरोप लगाए ।
प्रदेश राजधानी अन्यत्र सार्न खोजेर पुन भौतिक संरचना निर्माणको बहानामा भ्रष्टाचारको जालो रच्न खोजिएको उनले टिप्पणी गरे । त्यस्तै बिरोध कार्यक्रमलाई नेतृत्व गरेका तरुण दल जिल्ला सभापति सुकबहादुर गुरुङले पार्टीको सभापति तथा तत्कालीन प्रधानमन्त्रीको निर्णयलाई खारेज गर्नु खोज्नु नेकपा सरकारको दुर्भाग्यका दिन सुरु भएको र सरकार विरुद्ध आफुहरुको आन्दोलन सुरु भैसकेको भन्दै आगामी दिनमा सडकबाट थप आन्दोलन चर्काउने चेतावनी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij