
बिहिवार , आश्विन २२, २०७७
बुटवल, २२ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुन सक्ने गैरकानुनी किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन् ।
प्रदेशको राजधानी र नामाकरणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई निर्देशन दिदै उनले अब गुरुयोजनाको टुंगा नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताए । सरकारले यस अघि दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । कानूनी रुपमा जग्गाको किनबेच रोक लगाइसकेको भएपनि गैरकानुनी रुपमा किनबेच हुन सक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन उनले निर्देशन दिए ।
राप्ती उपत्यकाको राप्ती गाउँपालिका, गढवा र शितगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको मुख्यमन्त्री पोखरेलको भनाइ छ । राप्ती उपत्यका भन्नाले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उनले आग्रह गरे । राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उनले बताए ।
गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमश : बनाइदै जाने मुख्यमन्त्री पोखरेलले बताए । उनले नक्शाको डिजाइन, गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्ने बताइ । अहिलेलाई हेरेर होइन्, ५० वर्षपछि सम्म पनि व्यवस्थित शहर रहने गरी प्लानिङ गर्छौ, योजनाका माध्यमबाट मान्छेको सोंच बदल्छौं–उनले भने ।
राजधानी र नामको टुंगो सही ढंगले लगाएर संघीयताको वास्तविक कार्यान्वयन गर्न प्रदेश ५ सफल भएको र त्यसको लागि मुख्यमन्त्रीले सबैलाई धन्यवाद दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij