२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

शिक्षामन्त्री पौडेलको प्रश्न : प्रचण्डको नेतृत्वमा गणतन्त्र ल्याउने आन्दोलन चलिरहेको बेला केपी ओली कहाँ हुनुहुन्थ्यो ?

शुक्रवार , पौष २, २०७८

भैरहवा, २ पुस ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रचण्डको नेतृत्वमा गणतन्त्र ल्याउने आन्दोलन चलिरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी ओली कहाँ हुनुहुन्थ्यो भन्दै प्रश्न गरेका छन् । उनले राजतन्त्रका विरुद्धमा जनताको ठूलो पंक्ति आन्दोलनमा हुँदा ओली कहाँ हुनुहुन्थ्यो भन्दै प्रश्न गरेका हुन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मुल इकाइ समिति कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस, रुपन्देहीले शुक्रबार आयोजना गरेको उत्कृष्ट विद्यार्थी सम्मान एवं वृहत सांस्कृतिक कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मन्त्री पौडेलले नभएको झुटो कुरा गरेर जनतालाई भ्रमित गर्न नपाइने बताए । उनले आफ्नो अनुहार फर्केर हेर्न ओलीलाई आग्रह गरे ।

उनले पूर्व राजा ज्ञानेन्द्रसंग प्रचण्डले पाँच बुँदे सहमति गरेको भन्दै ओलीले झुटो बोलेको आरोप लगाए। मन्त्री पौडेलले भने, ‘पाँच बुँदे सहमति भएको पुष्टि गर्न ओलीलाई चेतावनी दिन चाहन्छु । ’उनले ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताए । 
मन्त्री पौडेलले एमालेको विचार, राजनीतिलाई सम्मान गर्ने भएको भन्दै पार्टीप्रति पूर्वाग्रह नराखिने बताए । 

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्षसमेत समेत नेता पौडेलले निकट भविष्यमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दावी गरे । उनले भने, ‘फेरी एकपटक माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने संकल्प गरेका छौं ।

’देशको राजनीतिक परिवर्तनका लागि अखिल क्रान्तिकारीले सबैभन्दा बढी संघर्ष गरेको उनले बताए । पक्लिहवा क्याम्पसको शिक्षा प्रणाली र भौतिक पूर्वाधार सुधारको लागि पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । उनले नयाँ कार्यक्रम बनाएर विद्यार्थीलाई उत्पादनसंग जोडिने बताए ।