२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

प्रदेशमा छिट्टै अपांगतासम्बन्धी ऐन बन्छ : मन्त्री घर्ती 

शुक्रवार , पौष २, २०७८

बुटवल, २ पुस । 
लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले प्रदेशले छुट्टै अपांगतासम्बन्धी ऐन ल्याउने तयारी गरेको बताएकी छिन् । आफू मन्त्री भएर आएपछि प्रदेश सरकारल छिट्टै अपांगतासम्बन्धी ऐन ल्याएर अपांगताको समस्या समाधान गर्न लागिएको बताएकी हुन् । उनले अपांगता भएका व्यक्तिहरुको लागि सरकार सदैव सकारात्मक भएको भन्दै यसको लागि छुट्टै ऐनमा नै व्यवस्थापन गरेर समस्या सम्वोधन गर्न लागिएको बताइन् । 

फाउण्ड परियोजनाको आयोजनामा बुटवलमा आयोजना गरिएको वार्षिक सिकाई आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घर्तीले अपांगताको विषयमा सरकारले जहिले पनि सकारात्मक रहेको बताइन् ।

कार्यक्रममा रोजगारविहिन अपांगता भएका व्यक्तिहरुको लागि उर्जाशिल अवसर (फाउन्ड) परियोजनाका बुटवल कलष्टर रमेश पोखरेललले कार्यपत्र प्रस्तुत गर्दै उनले रोजगार प्रर्वद्धनको लागि सरकारको भूमिका, सरोकारवाला निकायको भूमिकाको विषयमा प्रकाश पारेका थिए । 

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमादेवी काफ्ले, बुटवल उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष उज्जवल प्रसाद कसजु, फाउन्ड परियोजना बुटवल कलष्टर मेनेजर राम दयाल यादव लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 
द ल्याप्रोसी मिसन नेपाल, उद्योग वाणिज्य संघ र राष्ट्रिय अपांग महासंघ नेपालको सहयोगमा सञ्चालित फाउण्ड परियोजना नेपालका ५ जिल्लामा सञ्चालित रहेको छ । बुटवल कलष्टर अन्र्तगत रुपन्देही र कपिलवस्तु जिल्लामा कार्यक्रम सञ्चालन भएको फाउण्ड परियोजनाका राधा भट्टराईले जानकारी दिइन । 

उनका अनुसार सन् २०१९ देखि २०२३ सम्म कार्यक्रम जारी रहनेछ । हालसम्म परियोजनाले २ हजार २३ जना अपांगता भएका व्यक्तिहरुको बीचमा काम गरेको छ । जसमा ५ सय ३७ जनालाई रोष्टर गरिएको छ भने १ सय १ जनाले व्यवसायिक तालिम लिएका छन् । जसमा ५७ जनाले रोजगारी समेत पाइसकेका छन् ।