२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

संगठन विस्तारसंगै सामाजिक कार्यमा राष्ट्रिय युवा संघ सिद्धार्थनगर

बुधवार , पौष ७, २०७८

भैरहवा, ७ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर रुपन्देहीले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । संघको गत असोज १६ गते सम्पन्न आठौं नगर अधिवेशनबाट कृष्ण मल्ल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएपछि नगरका विभिन्न वडामा संगठन विस्तारले तीव्रता पाएको हो । 

हालसम्म सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ४, ८, ९, १०, ११ र १२ मा संगठन विस्तार गरिएको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका सचिव रोशन थापाले बताए । ‘कृष्ण मल्ल ठकुरीको अध्यक्षतामा सिद्धार्थनगरमा राष्ट्रिय युवा संघको अहिलेसम्म ७ वटा वडामा संगठन विस्तार गरिसकेका छौं, बाँकी वडामा पनि संगठन विस्तार गर्छौं, ’थापाले भने । मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले)को भातृ संगठन रहेकोले सिद्धार्थनगरलाई एमालेमय बनाउन लागिपरेको उनले बताए । कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा राष्ट्रिय युवा संघले विभिन्न वडामा स्वयंसेवकको भूमिका निर्वाह गरेको थापाले बताए ।

संगठन विस्तारसंगै संघले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई पनि निरन्तरता दिएको अध्यक्ष कृष्ण मल्ल ठकुरीले बताए । संघले विपन्न परिवारलाई सहयोग, बालगृहलाई खाद्यान्न सामग्री हस्तान्तरण, सडक कुकुरलाई खाना, देउसी भैलो कार्यक्रम जस्ता कार्यहरु सम्पन्न गरेको उनले बताए । ‘राष्ट्रिय युवा संघ, नेपाल भाषण र कुरा भन्दा काममा विश्वास गर्ने संगठन हो, संघ संगठन विस्तारसंगै सामाजिक क्षेत्रमा पनि क्रियाशिल छ, ’उनले भने ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सदस्य समेत रहेका सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरले संगठन विस्तारसंगै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिएको बताउँछन् । ‘मुलुकको पहिलो पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ पार्टीलाई अझ बलियो बनाउन लागिपरेको छ, यो सराहनीय छ, ’ठकुरीले भने । युवा संघ सिद्धार्थनगर रचनात्मक कार्यमा लागेको उनले बताए ।