२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लायन्स भैरहवा ग्रिनसिटीद्वारा सामुदायिक विद्यालयलाई खानेपानी ट्यांकी सहयोग

शनिवार , आश्विन २४, २०७७

भैरहवा, २४ असोज ।
‘हामी सेवा गर्छौ’ भन्ने नाराका साथ स्थापना भएको लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले  सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थित मेउडिहवा आधारभूत विद्यालयलाई खानेपानि ट्यांकी सहयोग गरेको छ ।

स्वच्छ खानेपानीको अभाव रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारीलाई लक्षित गरी भैरहवा ग्रिनसिटीले टयांकी सहयोग स्वरुप प्रदान गरेको हो । विक्रम सम्वत २०१६ सालमा स्थानीय उमादेवी शाहीको नेतृत्वमा स्थापना भएको उक्त विद्यालयलाई अतिआवश्यक खानेपानी टयांकी सहयोग गरेर भैरहवा ग्रिनसिटीले उच्च मानवीय कार्य गरेको विद्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका स्ट्रेटेजिक चिफ धर्मराज श्रेष्ठले बताए । प्रमुख अतिथि श्रेष्ठले भने, ‘लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी मानवीय कार्यमा गरेको यो कार्य उल्लेखनीय छ, युवाहरुको नेतृत्व रहेको भैरहवा ग्रिनसिटीको महान अभियानले म पनि खुशी भएको छु ।’

श्रेष्ठले मान्छेका लागि अतिआवश्यक स्वच्छ खानेपानीको अभाव पूर्ति गर्न गरिएको कार्यले सम्पुर्ण लायन्सहरुलाई गौरवान्वित बनाएको बताए । उनले सो अवसरमा लायन्स क्लब भैरहवा ग्रिनसिटीको संयोजनमा अक्षयकोष स्थापना गर्ने गरी ५१ हजार समेत प्रदान गर्ने घोषणा गर्दै भने, ‘यो विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीको छात्रावृत्तिको लागी लायन्स क्लब भैरहवा ग्रिनसिटीले संयोजन गर्न ेगरी रकम सहयोग गर्नेछु । ’

समाजसेवी श्रेष्ठले लायन्समा सेवाको भावना मात्रै प्राथमिकतामा पर्ने बताउँदै सबै लायन्सहरु एक भएर मानवीय सेवामा सक्रिय रुपमा लाग्नुपर्ने पनि बताए ।

कार्यक्रममा लायन्स क्लब अफ डिष्ट्रिक ३२५ बी २ का अर्का स्टे«टेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले ३ महिना अगाडी स्थापना भएको लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले भैरहवा क्षेत्रमा गरेको गतिविधि अन्य क्लबहरुको तुलनामा अग्रणी भएको बताए । ‘वर्षौ अगाडी स्थापना भएका क्लबहरुकै हाराहारीमा भैरहवा ग्रिनसिटीले काम गरिरहेको छ, सामाजिक सेवाको यो गति सधैं निरन्तर होस् ।’

सो अवसरमा मेउडिहवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र कोहारले कक्षा १ देखि ५ कक्षा सम्म सञ्चालित उक्त विद्यालयमा हाल १९२ जना विद्यार्थी अध्ययनरत रहेको बताए । उनले भने ‘हामीलाई सहयोगी हातहरुको खाँचो छ । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुले अध्ययन गर्ने उक्त विद्यालयको शिक्षालाई समयानुकल प्रतिष्पर्धी बनाउन भौतिक पूर्वाधार आवश्यक देखिन्छ । त्यसको लागि सबैको सहयोगको अपेक्षा गर्दछौं ।’ आफैले अध्ययन विद्यालयमा आफुले नै नेतृत्व गरेको संस्थामार्फत सहयोग गर्न पाउदा अत्यन्तै खुशी लागेको ग्रिनसिटीका अध्यक्ष शिवनाथ गुप्ताले बताए । ‘लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको अगुवाइमा लायन्स छात्रावृत्ति प्रदान गर्ने गरी अक्षय कोष स्थापनाको काम छिटै अगाडी बढाउँछौं ।’

इतिहास बोकेको मेउडिहवा आधारभूत विद्यालयको सर्वागीण विकासको लागि लायन्स क्लब भैरहवा ग्रिनसिटीको नेतृत्वमा आगामी दिनमा पनि सहयोग जुटाउन पहल गरिने उक्त कार्यक्रमका संयोजक विशाल बस्नेतले बताए ।

५ कठ्ठा ७ धूर जग्गाको क्षेत्रफलमा फैलिएको उक्त विद्यालयलाई चालु वर्षको बजेटमा सिद्धार्थनगर नगरपापालिका भैरहवाको ४८ लाख सहयोगमार्फत कक्षा कोठा निर्माण हुँदैछ । डेढ दशक अगाडीसम्म भैरहवाको चर्चित विद्यालय अन्तर्गत पर्ने उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरु हाल देश विदेशमा रहेका छन् तर उक्त विद्यालयको भौतिक अवस्था भने नाजुक रहेको छ । 

मुर्गियाका क्यान्सरपीडित मनोज गिरीको उपचारमा सहयोग, रुखबाट लडेर घाइते भएका परासीका छोटु सहानीको उपचारमा सहयोग जस्ता मानवीय कार्य गरेको लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले यस अघि बाल बहिरा विद्यालयमा वृक्षारोपण, कोरोना भाइरस सम्बन्धि सचेतना अभियान अन्तर्गत ‘मास्क खै अभियान’ पनि सञ्चालन गरको क्लबका सचिव भिम बहादुर थापाले बताए । उनले भने, ‘हामीले हरेक हप्ता सकेसम्म एउटा मानवीय तथा सामाजिक काम गर्ने गरी अगाडी बढेका छौं ।’