
शुक्रवार , पौष १६, २०७८
कावासोती, १६ पुस। नवलपुरको मध्यविन्दु-१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणबाट मध्यविन्दु-१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो।
बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए। सारूसँगै गएका अन्यले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो।
घटनास्थल अरुणखोला-दुम्कीबास सडकखण्डभन्दा करिब ५०० मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ। नवलपुरमा यसअघि मङ्सिर दोस्रो साता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका-१, मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भएको थियो। सो घटनास्थल र आजको घटनास्थल केही दूरीको फरकमा छ।
वन आसपासमा बाघको आतंक बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि मात्रै एक सूचनामार्फत् वन क्षेत्रमा नजान स्थानीयवासीलाई अनुरोध गरेको थियो। बाघको आक्रमणबाट थप एक जनाको मृत्य भएपछि चिन्तित स्थानीयवासी बाघलाई नियन्त्रण गरी निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने माग गर्न थालेका छन्। रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij