२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लुम्बिनीमा डिजिटल सुरक्षा प्रणाली

सोमवार , आश्विन २६, २०७७

भैरहवा, २६ असोज । 
शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई डिजिटल सुरक्षा प्रणालीले कभर गर्न थालिएको छ । लुम्बिनीको सुरक्षाको बारेमा सर्वत्र चासो भइरहेको बेला पवित्र उद्यान, बिहार क्षेत्र र लुम्बिनीग्रामको विभिन्न ठाउँमा गरी १७५ वटा सिसिटिभी क्यामेरा र २५ वटा पिटिजेड क्यामेरा जडान गरिएको छ । पिटिजेड क्यामेराले टाढाको वस्तु फोकस गरेर र जुम गरेर हेर्न मिल्छ । ती क्यामेरामार्फत यतिबेला लुम्बिनीको सुरक्षा व्यवस्था डिजिटलाइज्ड भएको हो । 

‘फाइबर र वायरलेश माध्यमबाट लुम्बिनीको महत्वपूर्ण सबै क्षेत्रमा सिसिक्यामेरा जडान गरी २४ औं घन्टा निगरानी गरिएको छ ।’ लुम्बिनी विकास कोषका सूचना प्रविधि इञ्जिनियर दिवाकर गौतमले बताए ।

गौतमले भने, ‘हामीले लुम्बिनीलाई सिसी क्यामेरामार्फत नियालिरहेका छौं । कहाँ के हुन्छ हरेक गतिविधि रेकर्ड गरेर राख्छौं । ’ हरेक सिसि क्यामेराको कन्ट्रोल विकास कोषमा राखिएको आइटी कन्ट्रोल रुमले गरिरहेको हुन्छ । कन्ट्रोल रुममा नेपाल प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मीहरुले क्यामेरामार्फत मोनिटरमा लुम्बिनी क्षेत्रको गतिविधि नियालिरहन्छन । 

‘कहींकतै प्रचलित कानूनविपरीतको काम भएमा तत्कालै कन्ट्रोल रुमबाट नजिकको सुरक्षा युनिट तथा कर्मचारीलाई खबर गरिन्छ । अनि तत्काल घटनास्थलमा सुरक्षाकर्मी पुगिहाल्छन् ।’ लुम्बिनी विकास कोषका कामू सदस्य सचिव ज्ञानिन राईले भने ।

राईले भने, ‘लुम्बिनी पूर्णतया डिजिटल सुरक्षा प्रणालीभित्र छ । हामी हरेक सेकेण्डका गतिविधिको निगरानी गर्नेगरी सुरक्षा व्यवस्था मजबुत गराएका छौं ।’ लुम्बिनीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, पर्यटक प्रहरी, लुम्बिनी विकास कोषका सुरक्षा कर्मचारी र बीर गोर्खा सेक्युरिटी कम्पनीको सुरक्षाकर्मी सुरक्षामा खटिएका छन् ।

लुम्बिनीकै सुरक्षालाई प्राथमिकता दिएर सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकको कमाण्डमा सशस्त्र प्रहरीको गुल्म लुम्बिनीमा छ । त्यसै गरी नजिकै नेपाल प्रहरीको प्रहरी निरीक्षकको कमाण्डमा इलाका प्रहरी कार्यालय लुम्बिनी छ । ‘लुम्बिनीमा सशस्त्र प्रहरीको सुरक्षाकर्मी अझै थप गर्नु जरुरी छ ।’ कामु सदस्यसचिव राईले भने । 

लुम्बिनीमा यति धेरै सुरक्षाकर्मी हुँदाहुँदै आपसी समन्वय नहुँदा बेलाबेला समस्या देखिने गरको छ ।

प्रोक्योरमेन्ट अफ ट्रान्समिसन ब्याकबोन एण्ड आईटी ईन्सफ्राक्टक्चर परियोजना अन्तरगत सिसि क्यामेरा जडान भएको हो । कन्ट्रोल रूममा १२ वटा टिभी स्क्रिन छन् । ०७४/०७५ मा काम सुरु भएको हो । वेभस–म्याक्स जेभिले काम गरेको हो ।
परियोजना अन्तर्गत अप्टिकल फाईभर बिछ्याउने, सर्बलियन प्रणाली, डाटा सेन्टर स्थापना, वायरलेश नेटवर्ट, सोलार ब्याकअप, डिजिटल साईनबोर्ड छन् ।