२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

“बिना कारण आरोप लगाएर कप्तानबाट हटाउँदा दुःख लागेको छ” : ज्ञानेन्द्र मल्ल

मंगलवार , पौष २०, २०७८

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले विभिन्न कारण देखाएर  आफुलाई कप्तानबाट हटाउँदा दु:ख लागेको बताएका छन् । 

टियु क्रिकेट मैदानमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै मल्लले विभिन्न आरोपहरु लगाएर हटाउँदा दु:ख लागेको बताएका हुन् । आफुले धेरै बर्ष क्रिकेटलाई दिएको र बिना कारण विभिन्न कुराहरु निकालेर आरोप लगाउनु दु:खको बिषय भएको उनको भनाई छ । 

क्यानलाई आफुहरुले सदैव सम्मान गर्ने भन्दै उनले बोर्डको बिरुद्धमा जाने, बोर्डलाई निच बनाउने पक्षमा कहिले नरहेको जिकिर गरे । मल्लले आफु सधै कप्तान बन्न नआएको र आफु सधै देशको लागि र आफ्नो लागि खेल्ने बताए । मल्लले वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको पनि बताए । नेपाली क्रिकेट अघि बढाउन एक जुट भएको भन्दै उनले टिमका खेलाडीबीच कुनै मनमुटाब नभएको उल्लेख गरे ।

असन्तुष्ट खेलाडी र क्यानबीच सहमति भएपछि आसन्न ग्लोबल छनोटका लागि सबै  खेलाडी बन्द प्रशिक्षणमा जुटेका छन । खुट्टाको चोटका कारण सागर ढकाल र हाल बिग ब्यास लिगका लागि अष्ट्रेलियामा रहेका सन्दिप लामिछाने बाहेक सबै खेलाडी मंगलबारबाट प्रशिक्षणमा फर्किएका छन ।

यसअघि क्यानले कारवाहीमा राख्दै कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दिपेन्द्रसिंह ऐरीलाई हटाएको थियो भने सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि ६ महिना केन्द्रिय सम्झौतामा नराख्ने निर्णय गरेको थियो ।

त्यसपछि उत्पन्न भएको विवादमा बारम्बारको छलफलपछि क्यान र खेलाडीले केहि लचकता अपनाउँदै विवाद समाधानमा पुगेको छ ।