
बिहिवार , माघ १३, २०७८
भैरहवा, १३ माघ ।
रुपन्देहीमा खड्गप्रसाद गौचन स्मृति अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ हुने भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा आगामी फागुन १ गतेदेखि हुने प्रतियोगिता चौथो संस्करणको हो ।
स्व. खड्गप्रसाद पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनका बुवा हुन् । स्टार एकेडेमी पनि शक्तिले सञ्चालन गर्दै आएका छन् । शक्तिले आफ्नो बुवाको स्मृतिमा विगत चार वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
‘नयाँनयाँ खेलाडीहरु उत्पादन गर्न सहयोग समेत पुग्ने भएकाले मैले प्रतियोगिता आयोजना गर्दै आएको छु’, भैरहवामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गौचनले भने । भैरहवास्थित सिद्धार्थ रंगशाला वा ओमसतियास्थित कर्मडाँडामा हुने प्रतियोगितामा देशभरका १० क्रिकेट एकेडेमीहरु सहभागी हुने गौचनले जानकारी दिए ।
प्रतियोगितामा स्टार क्रिकेट एकेडेमीसहित धनगढी, साई ग्लोबल, देउखुरी, विराटनगर, ओषिस, पोखरा, काशी नोबल एकेडेमी र न्यु होरोइजन स्पोर्टस् क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा विजयी टीमले नगद २० हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, उपविजेतालाई १० हजार रुपैयाँ प्रदान गरिने शक्तिले जानकारी दिए ।
यसअघि शक्तिका बुवा खड्गप्रसादको निधन भएको दिन माघ १४ गतेबाट प्रतियोगिता हुँदै आएकोमा यसपटक भने कोरोना महामारीका कारण पछि धकेलिएको हो । यस वर्ष बुवाको जन्मदिन पारेर फागुन १ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । राष्ट्रिय टिमबाट संन्यास लिएपछि उनले एकेडेमीमार्फत् नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुर्याउँदै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij