२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुटवलमा बन्यो कराँते डो एकेडेमीको कभर्डहल

बिहिवार , माघ १३, २०७८

बुटवल, १३ माघ । 
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले खेलकुदको विकास, सम्बद्र्धन र प्रवद्र्धनका लागि भन्दै कराँतेको एकेडेमी स्थापना गरेको छ । बुटवल–१०, कालिकानगरमा उपमहानगरले कराँते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन निर्माण गरेको छ । 
कराँतेका विभिन्न इभेन्ट्सको प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्ने गरी निर्माण गरिएको एकेडेमी भवनको बिहीबार एक संक्षिप्त समारोहबीच प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन् । 

उक्त एकेडेमी भवनको उद्घाटन गर्दै प्रमुख सुवेदीले खेलकुदका माध्यमबाट समृद्धि हासिल हुन सक्ने भएकाले उपमहानगरले खेलकुदको समग्र विकासलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेटको प्रबन्ध गरिएको बताए । उनले नगर खेलकुद विकास समिति गठन गर्नुका साथै त्यसमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको बताउँदै खेलकुदको पूर्वाधार विकासका साथै खेलाडीको उत्पादन, पहिचान, अवसर र प्रोत्साहनका लागि पनि उपमहानगरले विशेष रणनीतिका साथ कार्यक्रम गरिरहेको जानकारी दिए ।

वडा नम्बर १० का अध्यक्ष पदम थापाले खेलकुदको समग्र विकास र प्रबद्र्धनका लागि वडा स्तरबाट समेत कार्यक्रम भइरहेको उल्लेख गर्दै एकेडेमीको भरपूर सदुपयोग गरेर त्यसमार्फत खेलाडी उत्पादनमा टेवा पुर्याउनुपर्नेमा जोड दिए ।

कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका कार्यक्रमका सञ्चालक कृष्णप्रसाद देवकोटाले उपमहानगरले खेलकुदका लागि पूर्वाधार विकास संगसंगै खेलाडीमा प्रोत्साहन जगाउने समेत काम गरेको भन्दै धन्यवाद ज्ञापन गरे । 

उक्त कराँते डो एकेडेमी कभर्डहल भवन उपमहानगर, वडा स्तरीय र उपभोक्तासमेतको ४६ लाख ३९ हजार बराबरको लगानीमा निर्माण भएको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले जानकारी दिए ।

बुटवल उपमहानगरले खेलकुदका पूर्वाधार विकासका साथै विभिन्न वडामा गरी ४० स्थानमा बहुउद्देश्यीय खेलग्राम र खेलमैदान निर्माण गरेको छ । क्रिकेट, फुटबल, कराँते, ब्याडमिन्टन, टेनिसलगायत विभिन्न आउटडोर र इन्डोर खेलहरुलाई लक्षित गरेर खेलग्राम निर्माण गरिएको खेलकुद विकास समितिका अध्यक्ष काउचाको भनाइ छ । 

kalika karate dojang and ward 10 bhawan udghatan 2078 magha 13 (11).jpg

कराँते सिक्न चाहनेका लागि अवसर

कालिकानगरमा गत वर्ष नै एकेडेमी स्थापना भएको थियो । एकेडेमी स्थापना भएलगतै गत फागुन ४ गते उपमहानगरका प्रमुख सुवेदीले नै उपमहानगर मातहतको जग्गामा कराँते डे एकेडेमीको कभर्डहल शिलान्यास गरेका थिए । एक वर्षमै निर्माण सम्पन्न भएर अहिले उद्घाटन गरिएको छ । 

कालिका नगरमा स्थापना भएको एकेडेमीमा उपमहानगरका विभिन्न वडाका साथै तिलोत्तमा नगरपालिकाको २ र ३ नम्बर वडाका खेलाडीहरुले समेत प्रशिक्षणमा प्रत्यक्ष लाभ लिन सक्ने सितोरियो कराते संघ रुपन्देहीका अध्यक्ष एवं एकेडेमीका अध्यक्ष देवकोटाले जानकारी दिए ।

मेयरद्वारा क्रिकेट एकेडेमीको निरीक्षण

यसैबीच उपमहानगरका प्रमुख सुवेदीले बुटवलमा रहेको क्रिकेट एकेडेमीको पनि निरीक्षण गरेका छन् । बुटवल–११, देबिनगरमा निर्माण गरिएको बेस्टन क्रिक्रेट एकेडेमीको बिहीबारै निरिक्षण गर्दै प्रमुख सुवेदीले खेलकुदमा समर्पित भएर लाग्ने कुनै पनि खेलाडीलाई उपमहानरगे निराश नबनाउने प्रतिवद्धता व्यक्त गरे । खेलकुदका माध्यमबाट खेलाडीले मात्र नभई देशले पनि नाम, दाम, सम्मान र समृद्धिमा योगदानको अवसर पाउने विषयमा आफु विश्वस्त रहेको प्रमुख सुवेदीले बताए । उनले खेलकुदमा रुचि राखेर लाग्नेलाई सफलताको कामना पनि गरे । प्रशिक्षणमा रहेका खेलाडीहरुको हौसलाको लागी नगरप्रमुखको उपस्थितिले हौसला  प्रदान भएको र खेलकुद गतिविधिका विभिन्न कार्यक्रम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको क्रिकेट एकेडेमीका डाइरेक्टर भुवन पाण्डेले बताए ।