
रुपन्देहीमा मृत्यु हुनेको संख्या ४८ पुग्यो
आइतवार , कार्तिक २, २०७७
बुटवल, २ कार्तिक । रुपन्देहीमा आइतबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा ८ सुख्खानगर स्थायी घर भइ सोही वडाका सचिव समेत रहेका ४९ वर्षीय नारायण प्रसाद ज्ञवालीको बुटवलस्थित धागो कारखाना कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
असोज २७ गते मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि शनिबार मात्र अस्पताल भर्ना गरिएको थियो । कुनै दीर्घ रोग नरहेका संक्रमित ज्ञवालीको स्थिति गम्भिर भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा प्रारम्भिक उपचार गरिएको र आईसीयुमा राखि थप उपचारका क्रममा मृत्यू भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
पछिल्लो समय रुपन्देहीमा आईसीयु अभावकै कारण धेरै जनाको ज्यान जाने गरेको छ । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बस्नुपर्ने बाध्यता रहेको र सिकिस्त भएपछि अस्पताल पुग्दा उपचार अभावमा बिरामीको मृत्यू हुने गरेको भन्दै स्थानिय बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोेना संक्रमितबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij