२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

रुपन्देहीमा राप्रपा प्रवेश गर्नेको संख्या बढ्यो

आइतवार , फाल्गुण १, २०७८

भैरहवा, १ फागुन ।
स्थानीय तह निर्वाचनको मिति घोषणापछि विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पार्टी प्रवेश गर्नेको लहर चलेको छ । पार्टीले लुम्बिनी साँस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुको लर्को लागेको हो ।

लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित वडा नम्बर १० का नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य शिवप्रसाद यादवसहित ३५ जना पार्टीमा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।

पार्टीका सहायक महामन्त्री ताहिर अलीले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । राप्रपा क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष गंगाराम जयसवाल, नगर अध्यक्ष राजेश यादव एवं जिल्ला सदस्य किशु गौतम, युवा नेता मनोज जयसवाल लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा आयोजित कार्यक्रममा १४ जना राप्रपामा प्रवेश गरेका छन् । कार्यक्रममा राप्रपा रुपन्देही जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणाले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे । गुमान सिंह सोनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश प्रवक्ता दीपक पाण्डे, प्रदेश सदस्य विश्व प्रकाश श्रेष्ठ, रुपन्देही जिल्ला सचिव बलराम शर्मा, नेताहरु इशान भण्डारी, शंकर खत्री, चन्द्रभक्त श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै विभिन्न पार्टी परित्याग गरी ८७ जना नेता तथा कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य तथा युवा व्यवसायी कृष्ण अर्याल, नेपाली कांग्रेसका क्रियाशिल सदस्य प्रभात ज्ञवाली, पूर्व वडाअध्यक्ष अब्दुल हामिद, सिद्धार्थनगर वडा नम्बर ९ का नेता तथा भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नसरुद्दीन पठान, सलाउद्दीन पठान, महिला नेतृ अञ्जना ज्ञवाली लगायत नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् ।
राप्रपाले सिद्धार्थनगर–९ मा आयोजना वृहत भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरुसहित ८७ जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेको पार्टीका जिल्ला उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक अजय कुमार गुप्ताले जानकारी दिए ।

पार्टीका सिद्धार्थनगर वडा नम्बर ९ का अध्यक्ष सरोज भट्टराईको अध्यक्षता तथा जिल्ला सचिव बलराम शर्माको सञ्चालनमा भएको कार्यकर्ममा राप्रपाका केन्द्रिय सदस्य बसन्तविक्रम शाही, लुम्बिनी प्रदेश प्रवक्ता दीपक पाण्डे, जिल्ला अध्यक्ष सागर प्रताप राणा, जिल्ला उपाध्यक्ष गुप्ता, सिद्धार्थनगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, नव प्रवेशी प्रभात ज्ञवाली लगायतले बोल्दै पार्टीलाई स्थानीय तहको निर्वाचनमा विजयी बनाउन लागि पर्नुपर्नेमा जोड दिए । 

वडा नम्बर ९ मा प्रवेश गरेको जनलहरले राप्रपालाई नगरमा विजयी गराउने संकेत देखाएको भन्दै एकढिक्का भएर पार्टी क्रियाकलापमा लाग्नुपर्नेमा उनीहरुले जोड दिए ।